नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत मंगलबारको खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पोखरालाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
आजको खेलमा लुम्बिनी जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिने लक्ष्यसहित मैदानमा उत्रिएको छ। हाल ३ अंकसहित तालिकाको चौथो स्थानमा रहेको साविक विजेता लुम्बिनीले दुई खेल खेलेको छ। जसमध्ये एक खेलमा जित निकालेको लुम्बिनीको अर्को खेल वर्षाका कारण रद्द भएको थियो।
यता, पोखरा एभेन्जर्स भने प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ। दुई खेलबाट अंक जोड्न नसकेको पोखरा तालिकाको पुछारमा छ।पोखरा पहिलो खेलमा सुदूरपश्चिमसँग ६ विकेटले र दोस्रो खेलमा जनकपुरसँग ९ रनले पराजित भएको थियो।
आजको खेलमा लुम्बिनी आफ्नो जितको लय कायम राख्ने र पोखरा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछन्।
प्रतिक्रिया दिनुहोस