२०८३, कार्तिक १९ गते

राष्ट्र बैंकले आजदेखि सुनको असर्फी र चाँदीका सिक्का बेच्दै

बिहिवार , कार्तिक १९, २०८३

नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सुनको असर्फी र चाँदीका सिक्का बिक्री सुरु गर्दैछ। बबरमहलस्थित टक्सार महाशाखाबाट आज र भोलि दुई दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सर्वसाधारणले सुन तथा चाँदीका सिक्का खरिद गर्न सक्नेछन्।

राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार यस वर्ष सुनको असर्फीसँगै चाँदीका लक्ष्मी, गजलक्ष्मी र गणेश अंकित सिक्का बिक्री गरिनेछ। गत वर्ष सुन अभावका कारण चाँदीका सिक्का मात्रै बिक्री गरेको राष्ट्र बैंकले यसपटक वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरी असर्फी उत्पादन गरेको हो।

एक व्यक्तिले एउटा असर्फी र तीनवटा चाँदीका सिक्का किन्न पाउने
राष्ट्र बैंकका अनुसार एक व्यक्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका बढीमा तीनवटा चाँदीका सिक्का खरिद गर्न सक्नेछन्।

असर्फी तथा चाँदीका सिक्काको मूल्य बिक्री हुने दिनको सुन तथा चाँदीको बजार मूल्यका आधारमा निर्धारण हुनेछ। सिक्का उत्पादनमा लागेको खर्चसमेत जोडिने भएकाले बजारमा प्रचलित सुनचाँदीको मूल्यभन्दा केही महँगो पर्ने राष्ट्र बैंकले जनाएको छ।

नागरिकता वा परिचयपत्र अनिवार्य
सिक्का खरिद गर्न चाहनेले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य आधिकारिक प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। खरिदको भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

तिहारमा सुनचाँदीका सिक्का तथा धातु खरिद गरी लक्ष्मीका रूपमा पूजा गर्दा शुभ हुने धार्मिक विश्वास छ। यही परम्परालाई लक्षित गर्दै राष्ट्र बैंकले हरेक वर्ष तिहारको समयमा विशेष रूपमा सुन तथा चाँदीका सिक्का बिक्री गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images