खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया ढिलो सुरु गर्ने भएपछि बर्दियाका किसान सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन्। हिउँदेबाली लगाउन खेत जोत्ने, मल तथा बीउ खरिद गर्ने र घरायसी खर्च जुटाउनुपर्ने भएपछि किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा निकै कममा धान बिक्री गरिरहेका छन्।
गुलरिया नगरपालिका–१२ भैसाहीका अगुवा किसान जगमोहन थारूले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समयमै धान खरिद नगर्दा सस्तो मूल्यमा धान बिक्री गर्नुपरेको बताए। उनले प्रतिक्विन्टल दुई हजार ८०० रुपैयाँका दरले ३०० क्विन्टल धान बिक्री गरेको जानकारी दिए।
हिउँदेबाली लगाउन खेत जोत्ने खर्च र घरायसी आवश्यकता पूरा गर्नुपर्ने बाध्यताका कारण धान सस्तोमा बिक्री गर्नुपरेको उनको भनाइ छ। बढैयाताल गाउँपालिका–७ का किसान रामदेव थारूले पनि मल तथा हिउँदेबालीका लागि बीउ खरिद गर्न रकम अभाव भएपछि धान बिक्री गर्नुपरेको बताए।
बर्दियामा अहिले मोटा धान प्रतिक्विन्टल दुई हजार ९०० रुपैयाँमा बिक्री भइरहेको छ। बढैयाताल गाउँपालिका–५ बढैयागाउँका गल्ला व्यापारी सुरेश थारूका अनुसार मोटा धान प्रतिक्विन्टल दुई हजार ९०० र मसिनो धान चार हजार रुपैयाँका दरले खरिद भइरहेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राजापुरले भने यस वर्ष मङ्सिर ३ गतेदेखि धान खरिद गर्ने जनाएको छ। गत वर्ष कात्तिक १९ गतेदेखि नै धान खरिद सुरु गरेको कम्पनीले यस वर्ष करिब दुई साता ढिलाइ गर्दा किसान समस्यामा परेको नेपाल किसान महासङ्घका अध्यक्ष बिपी भण्डारीले बताए।
उनका अनुसार कम्पनीले ढिलो खरिद प्रक्रिया अघि बढाउँदा किसानले आफ्नो उत्पादनको आधाभन्दा बढी हिस्सा सस्तो मूल्यमा बिक्री गरिसकेका छन्। किसानको धान समयमै खरिद गर्न कम्पनीलाई दबाब दिँदै आएको उनले जानकारी दिए।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राजापुरले यस वर्ष बर्दियाबाट ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ। कम्पनीका वरिष्ठ सहायक एवं सूचना अधिकारी चेतमान कठायतका अनुसार गत वर्षझैँ यस वर्ष पनि ३० हजार क्विन्टल धान खरिद गर्ने अनुमति प्राप्त भएको छ।
जिल्लाको प्राथमिक खरिद समितिले तिहार बिदाका कारण मङ्सिरको पहिलो सातादेखि धान खरिद गर्ने निर्णय गरेको उनले बताए। जिल्लाका आठवटै पालिकाबाट प्रतिपालिका तीन हजार क्विन्टलका दरले धान खरिद गर्ने योजना छ। यसमध्ये २४ हजार क्विन्टल पालिकामार्फत र बाँकी छ हजार क्विन्टल कम्पनीको आफ्नै परिसरबाट खरिद गरिनेछ।
सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको तीन हजार ८६० रुपैयाँ तोकेको छ। गत वर्ष मोटा धानको समर्थन मूल्य तीन हजार ४६३ रुपैयाँ र मध्यम धानको तीन हजार ६२८ रुपैयाँ थियो।
बर्दियामा ५० हजार १०० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। उक्त क्षेत्रफलबाट वार्षिक दुई लाख २८ हजार ८१ मेट्रिक टन धान उत्पादन हुने एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कृषि प्राविधिक अधिकृत एवं सूचना अधिकारी फिर्तुमान चौधरीले जानकारी दिए।
सरकारले न्यूनतम समर्थन मूल्य तोके पनि समयमै सरकारी खरिद सुरु नहुँदा किसानले बजारमा सस्तो मूल्यमा धान बिक्री गर्नुपर्ने अवस्था दोहोरिएको छ। यसले किसानको उत्पादन लागतअनुसार उचित मूल्य पाउने अपेक्षामाथि प्रश्न उठाएको छ।
प्रतिक्रिया दिनुहोस