२०८३, मंसिर ४ गते

images

मंसिर १४ देखि आशुतोष इनर्जीको आइपिओ खुल्दै, कसले कति कित्ताका लागि दिन पाउँछन् आवेदन?

बिहिवार , मंसिर ३, २०८३

आशुतोष इनर्जी लिमिटेडले मंसिर १४ गतेदेखि प्राथमिक सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ जारी गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ। त्यसमध्ये प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। यसको कुल मूल्य ६ करोड रुपैयाँ हुनेछ।

स्थानीय बासिन्दाका लागि छुट्याइएको सेयरमध्ये ३ लाख कित्ता अति प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरिनेछ। यसमा लमजुङ जिल्लाको हालको दूधपोखरी गाउँपालिका वडा नम्बर १ र २ तथा गोरखा जिल्लाको हालको अजिरकोट गाउँपालिका वडा नम्बर २ र ३ का स्थानीय बासिन्दा समावेश हुनेछन्।

बाँकी ३ लाख कित्ता भने अति प्रभावित क्षेत्रबाहेक दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र अजिरकोट गाउँपालिकाका स्थायी बासिन्दाका लागि निष्कासन गरिनेछ। त्यस्तै, कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरिने सेयरमध्ये १० प्रतिशत अर्थात् ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ। नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीले उक्त सेयरमा आवेदन दिन सक्नेछन्।

न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्म आवेदन
आइपिओमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आइपिओ निष्कासन बन्द हुने मिति छिटोमा मंसिर २८ गते र ढिलोमा पुस १४ गते तोकिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने मंसिर १७ गतेभित्र आवेदन दिनुपर्नेछ। उक्त अवधिमा मागअनुसार आवेदन नपरेमा बिक्री अवधि मंसिर २८ गतेसम्म थपिने कम्पनीले जनाएको छ।

कहाँबाट दिने आवेदन?
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी, आयोजना कार्यालय, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, हिमालयन बैंकको गौंडा शाखा, राष्ट्रिय वाणिज्य बैंकको भच्चेक शाखा र एनएमबी बैंकको बेसीशहर शाखाबाट पनि आवेदन दिन सकिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरो सेयर अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।

आशुतोष इनर्जीलाई इक्रा नेपालले 'इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस' प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images