२०८३, मंसिर ४ गते

images

एसियन क्लियरिङ युनियनको अध्यक्षता नेपाल राष्ट्र बैंकले गर्ने, गभर्नर पौडेलले सम्हाले जिम्मेवारी

बिहिवार , मंसिर ३, २०८३

एसियन क्लियरिङ युनियन (एसीयू) को आगामी एक वर्षको अध्यक्षता नेपाल राष्ट्र बैंकले गर्ने भएको छ। काठमाडौंमा सम्पन्न युनियनको सञ्चालक समितिको ५४औँ बैठकले सन् २०२६/२७ का लागि नेपाल राष्ट्र बैंकलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो।

नेपाल राष्ट्र बैंकको आयोजनामा नोभेम्बर १७ मा स्थायी प्राविधिक समितिको बैठक र नोभेम्बर १८ मा सञ्चालक समितिको ५४औँ बैठक सम्पन्न भएको थियो। बैठकपछि राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले युनियनको अध्यक्षको जिम्मेवारी ग्रहण गरेका छन्।

बैठकमा सदस्य मुलुकका केन्द्रीय बैंकका उच्च अधिकारी, भारतीय रिजर्भ बैंकका गभर्नर, पर्यवेक्षक तथा एसीयू सचिवालयका प्रतिनिधिहरू सहभागी थिए। सीमापार भुक्तानी प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउने तथा नीतिगत सुधारका विषयमा बैठकमा छलफल भएको थियो।

अध्यक्षको जिम्मेवारी ग्रहण गर्दै गभर्नर पौडेलले एसीयूले अघि सारेका उद्देश्य प्राप्तिका लागि नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको बताए। सदस्य राष्ट्रबीच भुक्तानी कारोबारमा आ–आफ्नै देशको मुद्रा प्रयोग गर्ने व्यवस्थाले बाह्य क्षेत्रको स्थायित्व कायम गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

त्यस्तै, युनियनको द्विमासिक खुद फर्छ्यौट प्रणालीले सदस्य मुलुकलाई भुक्तानी कारोबारका क्रममा उत्पन्न हुन सक्ने सम्भावित जोखिमबाट जोगाउन सुरक्षा व्यवस्थाका रूपमा काम गर्ने उनले विश्वास व्यक्त गरे।

बैठकमा भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मल्होत्राले सीमापार भुक्तानी तथा फर्छ्यौटलाई सहज र प्रभावकारी बनाउन एसीयूको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले युनियनको संस्थागत क्षमता अभिवृद्धि र कार्यसम्पादन प्रभावकारी बनाउन सदस्यता विस्तारमा ध्यान दिनुपर्ने सुझाव दिए।

बैठकले एसीयू महासचिवको प्रतिवेदनसहित विभिन्न प्रस्तावमाथि छलफल गरी निर्णय गरेको छ। इरानको केन्द्रीय बैंकले आयोजना गरेको ५३औँ सञ्चालक समिति बैठकको कार्यविवरण तथा सन् २०२४/२५ मा युनियनले गरेका गतिविधिसम्बन्धी प्रतिवेदन स्वीकृत गरिएको छ। स्थायी प्राविधिक समितिले गरेका सिफारिसलाई पनि सञ्चालक समितिले अनुमोदन गरेको छ।

त्यसैगरी, सदस्य राष्ट्रका प्रतिनिधिहरूले आ–आफ्नो मुलुकको आर्थिक तथा वित्तीय अवस्थाबारे जानकारी प्रस्तुत गरेका थिए। डिजिटल अर्थतन्त्र र सीमापार क्षेत्रीय सहकार्यसम्बन्धी कार्ययोजनामाथि समेत छलफल भएको थियो।

युनियनले सन् २०२७/२८ का लागि म्यानमारको केन्द्रीय बैंकलाई अध्यक्ष र भारतीय रिजर्भ बैंकलाई उपाध्यक्ष चयन गरेको छ। अर्को सञ्चालक समिति बैठक सन् २०२७ जुनमा म्यानमारको राजधानी नेपिडोमा आयोजना गर्ने निर्णयसमेत भएको छ।

बैठकको समापनपछि आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बोधन गरेका थिए। उनले पाँच दशकभन्दा लामो समयदेखि एसीयूले क्षेत्रीय भुक्तानी प्रणालीको विकासमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे। विश्वव्यापी आर्थिक तथा भूराजनीतिक अनिश्चितताबाट उत्पन्न चुनौती सामना गर्न संस्थागत पारदर्शिता, सदस्य राष्ट्रबीच सहकार्य र आपसी विश्वास आवश्यक रहेको उनको भनाइ थियो।

सन् १९७४ मा सीमापार भुक्तानी कारोबारलाई व्यवस्थित, सहज र प्रभावकारी बनाउने उद्देश्यले एसियन क्लियरिङ युनियन स्थापना भएको हो। यसको सचिवालय इरानको तेहरानमा रहेको छ। युनियनमा नेपालसहित बंगलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, म्यानमार, पाकिस्तान, मौरिसस, बेलारुस र श्रीलंकाका केन्द्रीय बैंक सदस्य छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images