काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने नदी किनार र अतिक्रमणको जोखिममा रहेका सार्वजनिक जग्गाहरूको संरक्षणका लागि तारबार गर्ने योजना अघि बढाएको छ। महानगरको सार्वजनिक निर्माण विभागले यससम्बन्धी सूचना जारी गर्दै आवश्यक कार्य प्रारम्भ गरेको जनाएको छ।
विभागले महानगरपालिका अन्तर्गतका सबै ३२ वटै वडालाई पत्राचार गरी तारबार गर्नुपर्ने खोला किनार र सार्वजनिक जग्गाहरूको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ। आर्थिक वर्ष २०८१/८२ को स्वीकृत बजेटअनुसार ‘कोरिडोर फेन्सिङ वर्क्स’ सञ्चालन गर्ने योजना रहेको पत्रमा उल्लेख छ।
विभागीय प्रमुख सुरेश कुमार राईद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “विभिन्न वडा क्षेत्रभित्र सुधार तथा संरक्षण आवश्यक रहेका खोला किनार र सार्वजनिक जग्गाहरूको विवरण उपलब्ध गराइदिनुहुन अनुरोध छ। आवश्यक खरिद प्रक्रिया सम्पन्न भइसकेको र विवरण प्राप्त हुनासाथ योजना कार्यान्वयन अघि बढाइनेछ।”
महानगरले यस योजना कार्यान्वयनका लागि आवश्यक तयारी र खरिद प्रक्रिया सुरु भइसकेको जनाएको छ।

