विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को वार्षिक बैठकमा सहभागी हुन अमेरिका पुगेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटसँग भेटवार्ता गरेका छन्।
सोमबार वासिङ्टन डिसीमा सम्पन्न उक्त भेटवार्तामा विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरूको प्रगति समीक्षा, आगामी सहकार्यका प्राथमिक क्षेत्रहरू, तथा विकास साझेदारीलाई अझ प्रभावकारी बनाउने उपायहरूबारे विस्तृत छलफल गरिएको वाशिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ।
भेटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका अधिकारीहरू, मन्त्री खनालको भ्रमण टोलीका सदस्यहरू र विश्व बैंकका विभिन्न परियोजनामा संलग्न अधिकारीहरूको पनि सहभागिता थियो।
अर्थमन्त्री खनाल हाल विश्व बैंक र IMF को वार्षिक बैठकमा भाग लिन वासिङ्टन डिसीमा रहेका छन्। बैठकमा नेपालको आर्थिक सुधार, लगानीको वातावरण, तथा दिगो विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तारका विषयमा छलफल हुने कार्यक्रम रहेको छ।













