बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहितको समूहले नयाँ राजनीतिक दल दर्ता गरेको छ। दिनेश प्रसाईंको नेतृत्वमा ‘गतिशील लोकतान्त्रिक पार्टी’ गठन गरिएको हो।
दल दर्ताका लागि बिहीबार निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको आयोग स्रोतले जनाएको छ। पार्टीका महासचिव पियुषप्रसाद कायस्थ रहेका छन्। बस्नेतले पछिल्ला ५–६ महिनादेखि नयाँ दल गठनबारे तयारी र छलफल गर्दै आएका थिए। फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि नयाँ राजनीतिक परिस्थिति अनुरूप पार्टी दर्ताको प्रक्रिया अघि बढाइएको हो।
पार्टीमा एक जना अध्यक्ष र पाँच जना महासचिव रहने संरचना प्रस्ताव गरिएको छ भने बाँकी सदस्यहरू पछि चयन गरिने बताइएको छ। स्रोतका अनुसार, पार्टीमा पदाधिकारीले चुनाव नलड्ने प्रावधान राखिएको छ। त्यसैले संस्थापक वीरेन्द्रबहादुर बस्नेत औपचारिक नेतृत्वमा नरहेको स्पष्ट गरिएको छ।
पार्टीले आगामी दिनमा वैकल्पिक राजनीति, सुशासन र पारदर्शितामा आधारित ‘नयाँ राजनीतिक अभ्यास’ अघि सार्ने तयारी गरेको बताइएको छ।













