२०८२ कार्तिक ८ शनिबार

बाग्लुङको गल्कोट नगरपालिका, बडीगाड गाउँपालिका र गुल्मीको मुसीकोट नगरपालिकामा फैलिएको दरमखोला जलविद्युत आयोजना सफलतापूर्वक सञ्चालनमा आएको छ। दरमखोला हाईड्रो इनर्जी लिमिटेडद्वारा प्रवद्र्धित सो आयोजना ९.६ मेगावाट विद्युत उत्पादन क्षमताको हो, जसले २०८२ साल असोज ३१ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ।

विद्युत उत्पादन सुरु भएसँगै कम्पनीले आयोजना सञ्चालनमा प्रत्यक्षअप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने सबैलाई आभार प्रकट गरेको छ। कम्पनीले विशेष रूपमा बाग्लुङको गल्कोट नगरपालिका८, ९, ११, बडीगाड गाउँपालिका र गुल्मीको मुसीकोट नगरपालिकामा पर्ने अर्लाङ्कोट तथा वामी क्षेत्रका स्थानीय बासिन्दा, जग्गादाताहरू, समन्वय समिति, टोल विकास समिति, नेपाल विद्युत प्राधिकरण, धितोपत्र बोर्ड, नियामक निकायहरू, वित्तीय संस्था तथा अन्य सरोकारवालाहरूलाई धन्यवाद दिएको छ।

यस आयोजनाका परामर्शदाताहरू युनिट्स इन्जिनियरिङ कन्सल्टेन्ट, फिनम्यान सर्भिसेज र कंडेल एण्ड एसोसियट्स रहेको जानकारी दिइएको छ। कम्पनीले सर्वसाधारणका लागि ३९ लाख ५० हजार कित्ता शेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ, जुन कुल जारी पूँजीको ३८.३३ प्रतिशत हो। बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब तीन करोड पाँच लाख रुपैयाँ पुगेको छ। कम्पनीले अब उक्त शेयरहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने प्रक्रियामा रहेको छ।

दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आयोजना सञ्चालनलाई केवल संस्थागत उपलब्धि नभई स्थानीय समुदाय, सरोकारवालाहरू र लगानीकर्ताहरूको संयुक्त प्रयासको सफल परिणामका रूपमा लिएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय