२०८३, आश्विन ५ गते

कृष्णभीरको सडक खुलेपछि घट्यो ग्यासको मूल्य, अब कति पर्छ ?

बिहिवार , आश्विन १, २०८३

कृष्णभीर क्षेत्रमा अवरुद्ध सडक खुलेसँगै काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पूर्ववत् कायम हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले शुक्रबारदेखि नेपाल आयल निगमले तोकेको मूल्यमा मात्रै ग्यास बिक्री गर्न उद्योगी तथा विक्रेतालाई आग्रह गरेको छ।

संघले उपत्यकामा प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नलिन उद्योगी तथा विक्रेतालाई निर्देशन दिएको हो। त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि उपत्यकामा एलपी ग्यास ल्याउन उद्योगीहरूले वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए।

वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा अतिरिक्त लागत लागेपछि संघले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा ढुवानी खर्च थप गरी अधिकतम २ हजार १६५ रुपैयाँ ३८ पैसासम्ममा ग्यास बिक्री गर्न यसअघि आग्रह गरेको थियो।

तर, अवरुद्ध सडकमा वैकल्पिक मार्ग निर्माण गरी यातायात सञ्चालनमा आएसँगै ग्यासका बुलेटहरू नियमित रूपमा काठमाडौं आउन थालेका छन्। अब वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था हटेकाले अतिरिक्त ढुवानी खर्च लिन आवश्यक नरहेको संघले जनाएको छ।

संघले सबै ग्यास उद्योगीलाई मूल्यसम्बन्धी नयाँ व्यवस्थाबारे आफ्ना विक्रेतालाई जानकारी गराउनसमेत आग्रह गरेको छ। यससँगै उपत्यकामा एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै बिक्री हुने भएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!