२०८३, आश्विन ५ गते

घरजग्गा क्षेत्र चलायमान बनाउन निजी क्षेत्रका चार माग, भृकुटीमण्डपमा आवास एक्स्पो सुरु

बिहिवार , आश्विन १, २०८३

सुस्त रहेको घरजग्गा कारोबारलाई चलायमान बनाउन निजी क्षेत्रले जग्गाको हदबन्दीमा छुटदेखि घरजग्गा कर्जाको ‘लोन टु भ्यालु’ अनुपात बढाउनुपर्नेसम्मका माग अघि सारेको छ।

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नारासहित बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३को उद्घाटन कार्यक्रममा व्यवसायीहरूले घरजग्गा क्षेत्रको विद्यमान नीतिगत समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन्।

चार दिनसम्म सञ्चालन हुने एक्स्पोको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गरेका छन्। नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक वर्षका अवसरमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजनामा एक्स्पो गरिएको हो। नेपाल चेम्बर अफ कमर्स सहआयोजक रहेको एक्स्पो असोज १ देखि ४ गतेसम्म सञ्चालन हुनेछ।

घरजग्गा क्षेत्र चलायमान नभए अर्थतन्त्रमा सुधार नआउने दाबी

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले घरजग्गा व्यवसाय अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र भएकाले यो क्षेत्र चलायमान नभएसम्म अन्य व्यवसायमा समेत अपेक्षित सुधार आउन नसक्ने बताए।

उनले भूकम्प, कोभिडलगायतका कठिन परिस्थितिमा समेत निजी क्षेत्रले अर्थतन्त्रमा योगदान दिँदै आएको उल्लेख गर्दै घरजग्गा क्षेत्रका समस्या समाधानका लागि नीतिगत सहजीकरण आवश्यक रहेको बताए।

अग्रवालले विदेशी नागरिक तथा विशेषगरी गैरआवासीय नेपालीले नेपालमा अपार्टमेन्ट खरिद गर्न सक्ने कानुनी व्यवस्था गर्नसमेत सरकारसँग माग गरे। यस्तो व्यवस्था भए आवास क्षेत्रमा लगानी बढ्नुका साथै विदेशी मुद्रा भित्र्याउन सहयोग पुग्ने उनको भनाइ थियो।

हदबन्दी र कित्ताकाटको दीर्घकालीन समाधान माग

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुँवरले जग्गाको हदबन्दीसम्बन्धी समस्या तत्काल समाधान गर्नुपर्ने बताए। उनका अनुसार हदबन्दीको समस्या समाधान नभए रियल इस्टेट व्यवसाय सञ्चालन गर्न कठिन हुने अवस्था छ। उनले जग्गा कित्ताकाटको समस्या पनि पटक–पटकको अस्थायी निर्णयबाट नभई दीर्घकालीन नीतिमार्फत समाधान गर्नुपर्ने बताए।

बाढीबाट विस्थापित नागरिकको पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा रियल इस्टेट व्यवसायी सरकारसँग सहकार्य गर्न तयार रहेको कुँवरले बताए। उनले पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा पहिरोको जोखिमलाई ध्यान दिँदै थानकोटदेखि शक्तिखोरसम्म निजी क्षेत्रको सहकार्यमा सुरुङमार्ग निर्माण गर्न सकिने प्रस्तावसमेत अघि सारे।

घरजग्गा क्षेत्रमा चार नीतिगत माग

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले घरजग्गा क्षेत्रलाई चलायमान बनाउन चार प्रमुख नीतिगत सुधार आवश्यक रहेको बताए। उनले दर्तावाल रियल इस्टेट कम्पनीलाई जग्गाको हदबन्दीमा छुट दिनुपर्ने माग गरे।

त्यस्तै, घरजग्गा कर्जाको लोन टु भ्यालु रेसियो (एलटीभी) ८० प्रतिशत पुर्‍याउनुपर्ने, ३ करोड रुपैयाँसम्मको घरजग्गा खरिदमा स्वघोषित आयस्रोतलाई मान्यता दिनुपर्ने र रियल इस्टेट क्षेत्रलाई उत्पादनमूलक उद्योगसरह मान्यता दिनुपर्ने उनको माग छ।

उनका अनुसार यी नीतिगत समस्या समाधान भए घरजग्गा क्षेत्र थप व्यवस्थित र चलायमान बन्न सक्छ।

‘सरकार व्यवसायीका समस्या समाधान गर्न प्रयासरत’

एक्स्पो उद्घाटन गर्दै प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले जग्गा तथा आवास क्षेत्रका व्यवसायीले लामो समयदेखि उठाउँदै आएको हदबन्दीलगायतका समस्या समाधानका लागि सरकार प्रयासरत रहेको बताए।

उनले प्रतिनिधिसभाको सभामुखको हैसियतले सम्बन्धित विषयमा आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए। ठूला व्यवसायीका समस्या मात्र नभई साना व्यवसायी तथा दूरदराजमा रहेका नागरिकका आवाससम्बन्धी समस्या पनि सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।

विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न सहज वातावरण बनाउन तथा युवा पुस्तालाई नेपालमै काम गर्न सकिन्छ भन्ने विश्वास दिलाउन सबै पक्षले प्रयास गर्नुपर्ने उनले बताए।

१०० भन्दा बढी स्टल

चार दिनसम्म चल्ने एक्स्पोमा १०० भन्दा बढी स्टल राखिएका छन्। घरजग्गा तथा आवास निर्माणसँग सम्बन्धित कम्पनी, व्यवसायी तथा सेवा प्रदायकले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गरिरहेका छन्। एक्स्पो आयोजना तथा तयारी समितिका संयोजक रोशन भोयध्योका अनुसार प्रदर्शनीसँगै विभिन्न प्राविधिक सेमिनार तथा प्यानल छलफलसमेत आयोजना हुनेछ।

वास्तुशास्त्र, विपद् उत्थानशील पूर्वाधार, बाढीबाट प्रभावित नागरिकको पुनःस्थापना तथा सार्वजनिक–निजी साझेदारीमार्फत एकीकृत आवास विकासलगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ।

पछिल्लो समय बाढीपहिरोबाट आवास तथा भौतिक संरचनामा पुगेको क्षति र पुनर्निर्माणको आवश्यकतालाई समेत एक्स्पोमा छलफलको विषय बनाइएको छ।

असोज ४ गतेसम्म सञ्चालन

भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुने एक्स्पो असोज १ देखि ४ गतेसम्म चल्नेछ। सर्वसाधारणले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म प्रदर्शनी अवलोकन गर्न सक्ने आयोजकले जनाएको छ।

एक्स्पोले घरजग्गा तथा निर्माण क्षेत्रमा रहेका नीतिगत समस्या, नयाँ प्रविधि, सुरक्षित तथा विपद्–उत्थानशील आवास, पुनर्निर्माण र सार्वजनिक–निजी साझेदारीका विषयमा सरकार, व्यवसायी तथा अन्य सरोकारवालाबीच छलफलको अवसर उपलब्ध गराउने आयोजकको भनाइ छ।
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!