२०८३, भाद्र ८ गते

images

नाडा अटो शोको तयारी तीव्र, भृकुटीमण्डपमा धमाधम बन्दैछन् २०० भन्दा बढी स्टल (तस्बिरहरु)

शनिवार , भाद्र ६, २०८३

नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ नजिकिँदै गर्दा काठमाडौंको भृकुटीमण्डपमा स्टल निर्माणको काम तीव्र बनेको छ।

आगामी भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने अटो शोका लागि प्रदर्शनीस्थलमा अहिले विभिन्न सवारी ब्रान्ड, अटो पार्ट्स तथा कम्पोनेन्ट, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टल निर्माणको काम धमाधम भइरहेको छ।

photo-1.jpeg

यस वर्ष नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ स्थापना वर्षको स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुन लागेको प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्।

तीन लाख वर्गफिटमा फैलिँदै अटोमोबाइलको ठूलो मेला

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने प्रदर्शनीमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपाङ्ग्रे सवारीका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी हुँदैछन्।

त्यसैगरी करिब ७० वटा कम्पनीले अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, एसेसरिज, चार्जिङ उपकरण तथा ग्यारेजसम्बन्धी प्रविधि प्रदर्शन गर्नेछन्। बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको पनि सहभागिता रहनेछ।

प्रदर्शनी सुरु हुन केही दिन मात्र बाँकी रहेकाले भृकुटीमण्डप परिसरमा अहिले स्टल निर्माणको चटारो छ। विभिन्न ब्रान्डले आफ्ना स्टललाई आकर्षक र प्रविधिमैत्री बनाउन संरचना निर्माणसँगै विद्युत्, प्रकाश, डिजिटल डिस्प्ले, ब्रान्डिङ तथा अन्य प्राविधिक व्यवस्थापनको काम समानान्तर रूपमा अघि बढाइरहेका छन्।

नयाँ गाडी मात्र होइन, अटोमोबाइलको सम्पूर्ण संसार

यसपटकको अटो शोमा नयाँ सवारीसाधन र विद्युतीय सवारीको प्रदर्शन मात्र हुने छैन। सवारी खरिदपछि आवश्यक पर्ने टायरदेखि ब्याट्री, इन्जिन आयलदेखि ग्यारेज उपकरण र वित्तीय सेवासम्म अटोमोबाइल क्षेत्रको सम्पूर्ण शृङ्खला एउटै प्रदर्शनीस्थलमा देख्न पाइनेछ।

photo-4.jpeg

नाडा अटो शो उपभोक्ता, सवारी व्यवसायी, वितरक, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र अटोमोबाइल क्षेत्रका अन्य सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तरक्रियाको प्रमुख मञ्च बन्ने अपेक्षा गरिएको छ।

‘मेड इन नेपाल, मेड फर नेपाल’ विशेष आकर्षण

यस वर्षको प्रदर्शनीमा ‘मेड इन नेपाल, मेड फर नेपाल’ विशेष प्रदर्शनी क्षेत्र पनि रहनेछ। यसमार्फत नेपालमै उत्पादन वा एसेम्बल भएका सवारीसाधन, विद्युतीय सवारी, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल कम्पोनेन्टलाई प्रवर्द्धन गर्ने तयारी गरिएको छ।

नाडाको स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुन लागेको यसपटकको प्रदर्शनीलाई विगतका संस्करणभन्दा थप व्यवस्थित, प्रविधिमैत्री र व्यावसायिक बनाउने तयारी भइरहेको आयोजकले जनाएको छ।

photo-5.jpeg

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने नाडा अटो शो २०२६ मा अहिले देखिएको स्टल निर्माणको चहलपहलले भने नेपालको सबैभन्दा ठूलो अटोमोबाइल मेलाको रौनक सुरु भइसकेको संकेत दिएको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!