नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको एक्स्पो साउन २६ गतेदेखि ६ दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको थियो।
एक्स्पोको अन्तिम दिन सोमबार मात्रै ३० हजारभन्दा बढीले अवलोकन गरेका थिए। उद्घाटनका दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार र पाँचौँ दिन ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेको आयोजकले जनाएको छ। नाइमाले ६ दिनमा डेढ लाख अवलोकनकर्ता आउने अपेक्षा गरेकोमा वास्तविक सहभागिता त्यसको तुलनामा उल्लेख्य बढी भएको हो।
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड सहभागी भएका थिए भने ५३ वटा नयाँ उत्पादन सार्वजनिक गरिएको आयोजकले जनाएको छ। नयाँ सवारीसाधन, विद्युतीय सवारी, प्रविधि तथा मोबिलिटीसम्बन्धी उत्पादन र सेवाले एक्स्पोमा मुख्य आकर्षण सिर्जना गरेका थिए।
समापन कार्यक्रममा नाइमा अध्यक्ष रितु सिंह वैद्यले अवलोकनकर्ताको संख्या, ब्रान्डको सहभागिता र नयाँ उत्पादनको सार्वजनिक हुनु एक्स्पोको प्रमुख उपलब्धि भएको बताइन्। उनका अनुसार एक्स्पो कुनै एक व्यक्ति वा संस्थाको सफलता नभई नेपालको समग्र मोबिलिटी उद्योगको सामूहिक उपलब्धि हो।

उनले एक्स्पोलाई सवारीसाधन प्रदर्शन गर्ने थलोमा मात्र सीमित नगरी ज्ञान, सिकाइ र प्रविधिबारे छलफल गर्ने प्लेटफर्मका रूपमा विकास गर्ने प्रयास गरिएको बताइन्। ठूलो संख्यामा अवलोकनकर्ता आउनु नाइमाका लागि उत्साह र आगामी संस्करण अझ ठूलो तथा व्यवस्थित बनाउने प्रेरणा भएको उनको भनाइ थियो।
अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले एक्स्पो अपेक्षाभन्दा बढी सफल भएको बताए। उनका अनुसार अवलोकनकर्ताको संख्या मात्र नभई इन्क्वायरी र बुकिङसमेत अपेक्षाभन्दा राम्रो भएको छ।
नाइमाका स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले एक्स्पोलाई एक शब्दमा ‘सुपरहिट’ भएको बताए। त्यस्तै, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले प्रदर्शनीसँगै सिकाइ सत्र, सहकार्य र मागकेन्द्रित व्यवस्थापनमा ध्यान दिँदै एक्स्पोको अवधारणालाई थप विस्तार गरिएको बताए।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। एक्स्पोमा नयाँ विद्युतीय सवारीसाधन तथा प्रविधिमा आधारित मोबिलिटी समाधानप्रति अवलोकनकर्ताको विशेष चासो देखिएको आयोजकले जनाएको छ।
एक्स्पोमा विभिन्न बैंक, बीमा कम्पनी, प्रविधि, चार्जिङ, स्वास्थ्य, सुरक्षा, सञ्चार तथा अन्य क्षेत्रका संस्थाहरूले साझेदारका रूपमा सहभागिता जनाएका थिए। आयोजकका अनुसार ठूलो जनसहभागितासँगै नयाँ उत्पादनको सार्वजनिक, व्यावसायिक इन्क्वायरी र बुकिङले नेपालको अटोमोबाइल तथा मोबिलिटी बजारप्रति रहेको उपभोक्ताको चासोलाई समेत प्रतिबिम्बित गरेको छ।
प्रतिक्रिया दिनुहोस