कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई प्रवर्द्धन गर्न आफ्नो मोबाइल बैंकिङ एपमा ‘आईआरडी प्रोत्साहन कार्यक्रम’ सुविधा उपलब्ध गराएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमको उद्देश्य उपभोक्तालाई प्यान तथा भ्याट बिल लिन प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन र वित्तीय पारदर्शिता बढाउनु रहेको बैंकले जनाएको छ।
यस सुविधाअन्तर्गत कुमारी बैंकका ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआरमार्फत भुक्तानी गरेमा पुरस्कार योजनामा सहभागी हुन सक्नेछन्। ग्राहकले कुमारी स्मार्ट मोबाइल बैंकिङ एपको ‘आईआरडी प्रोत्साहन कार्यक्रम’ मेनुबाट आफूले गरेका योग्य कारोबारको संख्या, कारोबार विवरण तथा पुरस्कारको अवस्था हेर्न सक्नेछन्।
आन्तरिक राजस्व विभागको व्यवस्थाअनुसार योग्य कारोबारमध्येबाट हरेक दिन एक जना ग्राहकले कर कट्टीपछिको रु. १ लाख नगद पुरस्कार पाउनेछन्। यस्तै, हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले रु. १० लाख बराबरको बम्पर पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकले ग्राहकलाई व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्न, प्यान तथा भ्याट बिल लिन, बिल सुरक्षित राख्न र मोबाइल बैंकिङ एपमार्फत आफ्नो योग्यताको अवस्था नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ।
बैंकका अनुसार यो सुविधाले डिजिटल कारोबार विस्तारसँगै नगदरहित अर्थतन्त्र, कर अनुपालन र औपचारिक कारोबारलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
२५ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकका देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम र ४० शाखारहित बैंकिङ इकाइ सञ्चालनमा रहेको बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस