अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक निकायका रूपमा सीमित नरही मुलुकको आर्थिक रूपान्तरणको सहयात्रीका रूपमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको समन्वय बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नियमनको उद्देश्य नियन्त्रण मात्र नभई उत्पादनशील आर्थिक गतिविधिलाई प्रोत्साहन, सहजीकरण र विस्तार गर्नु पनि भएको बताए। उनले वर्तमान अवस्थामा अर्थतन्त्रलाई गति दिन नीतिगत स्पष्टता, छरितो निर्णय प्रक्रिया र कार्यान्वयनमुखी सोच आवश्यक रहेको उल्लेख गरे।
'अहिलेको मुख्य आवश्यकता नीतिगत आत्मविश्वास हो,' उनले भने, 'हामीले ‘यो सम्भव छैन’ भन्ने सोच त्यागेर ‘यसलाई सम्भव बनाउन के गर्नुपर्छ ?’ भन्ने दृष्टिकोणका साथ अघि बढ्नुपर्छ।'
अर्थमन्त्री वाग्लेले हालै उद्योगी–व्यवसायी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग भएको छलफलको अनुभव सुनाउँदै निजी क्षेत्रले अनुदान वा सहुलियतभन्दा पनि स्पष्ट नीति, स्थिर नियामकीय व्यवस्था र छिटो निर्णय प्रक्रियाको अपेक्षा गरेको बताए।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि उत्पादनशील क्षेत्रमा अपेक्षित रूपमा कर्जा प्रवाह हुन नसकेको अवस्थाप्रति उनले चिन्ता व्यक्त गरे। उपलब्ध वित्तीय स्रोतलाई उद्योग, उत्पादन, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा प्रभावकारी रूपमा परिचालन गर्न नेपाल राष्ट्र बैंकले अझ सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
'विगतमा नीतिगत रूपमा सही निर्णय भए पनि कार्यान्वयनको चरणमा अपेक्षित परिणाम किन आएन ? बैंकमा पर्याप्त तरलता हुँदाहुँदै उत्पादन क्षेत्रमा कर्जा किन विस्तार हुन सकेन ?' भन्ने प्रश्न उठाउँदै उनले मौद्रिक नीति र वित्तीय नीतिबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
बैठकमा उठेका सुझाव र विषयवस्तुलाई औपचारिक छलफलमै सीमित नराखी आवश्यक परे संयुक्त कार्यदल गठन गरेर कार्ययोजनामा रूपान्तरण गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

अर्थमन्त्री वाग्लेले डिजिटल वित्त, फिनटेक, स्टार्टअप वित्तपोषण तथा आर्थिक सुधारका कार्यक्रमलाई सहज बनाउन नेपाल राष्ट्र बैंकले नीतिगत स्पष्टता, लचकता र समयानुकूल निर्णय क्षमता प्रदर्शन गर्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसतर्फ आवश्यक पहल गर्न निर्देशन दिएका छन्।
प्रतिक्रिया दिनुहोस