नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। निगमले सोमबार (साउन १८) बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धनको नयाँ मूल्य निर्धारण गरेको हो।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धन (काठमाडौं) मा प्रतिकिलोलिटर १३१ अमेरिकी डलर मूल्य वृद्धि गरिएको छ।
मूल्य समायोजनपछि पेट्रोलको खुद्रा मूल्य पहिलो वर्गका डिपो क्षेत्रमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम गरिएको छ। यस्तै, डिजेल र मट्टीतेलको मूल्य पनि पहिलो वर्गमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ तोकिएको निगमले जनाएको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा राखेको छ। सुर्खेत र दाङ दोस्रो वर्गमा तथा काठमाडौं, पोखरा र दीपायल तेस्रो वर्गमा परेका छन्।
निगमका अनुसार भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ १९ पैसा र डिजेलमा ३९ रुपैयाँ ६७ पैसा लागत बढेर आएको छ। सोहीअनुसार आन्तरिक बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ। पछिल्लो मूल्यवृद्धिसँगै यातायात, ढुवानी तथा उपभोग्य वस्तुको लागतमा समेत दबाब बढ्ने देखिएको छ।
प्रतिक्रिया दिनुहोस