अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा भन्सार नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा यस नाकाबाट १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ।
काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यही नाकाबाट ७ अर्ब ६७ करोड ४० लाख ३७ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो। एक वर्षमै निर्यात कारोबार ४ अर्ब ९६ करोड २९ लाख ३३ हजार रुपैयाँ अर्थात् ६४.६५ प्रतिशत ले वृद्धि भएको हो।
कारोबारसँगै निर्यात परिमाण पनि उल्लेखनीय रूपमा बढेको छ। गत आर्थिक वर्षमा ६३ लाख ८५ हजार ८७० किलोग्राम अलैँची निर्यात भएको छ, जबकि अघिल्लो वर्ष ४२ लाख ९४ हजार ५५० किलोग्राम मात्रै निर्यात भएको थियो।
काँकडभिट्टा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत मांकल राईका अनुसार अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेकाले निर्यात कारोबारमा उल्लेखनीय विस्तार भएको हो।
पूर्वी पहाडी जिल्लाहरूमा उत्पादन हुने अलैँची नेपालका प्रमुख नगदे बालीमध्ये एक हो। यसको निर्यातबाट किसानको आम्दानी बढ्नुका साथै मुलुकको विदेशी मुद्रा आर्जनमा पनि महत्वपूर्ण योगदान पुग्दै आएको छ।
भन्सार कार्यालयका अनुसार उत्पादन वृद्धि, गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजार विस्तारलाई निरन्तरता दिन सके आगामी वर्षहरूमा पनि अलैँची निर्यात अझ उच्च दरमा बढ्ने सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस