बर्डफ्लुको प्रभावका कारण उत्पादन घटेपछि बजारमा अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादनमा आएको कमी र पछिल्लो समय माग बढ्न थालेपछि अण्डाको मूल्य उकालो लागेको हो।
नेपाल लेयर्स कुखुरापालक संघले ठूला फार्मबाट प्राप्त मूल्यका आधारमा अण्डाको बजार मूल्य निर्धारण गर्दै आएको छ। संघका अनुसार मंगलबारदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४५० रुपैयाँबाट बढाएर ५०० रुपैयाँ पुर्याइएको छ। त्यस्तै, मध्यम अण्डाको मूल्य ४२० रुपैयाँबाट ४७० रुपैयाँ पुगेको छ भने सानो अण्डाको मूल्य ४१५ रुपैयाँ कायम गरिएको छ। सबै प्रकारका अण्डाको मूल्य प्रतिके्रट ५० रुपैयाँले बढाइएको हो।
नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार पछिल्लो समय अण्डाको माग बढ्न थालेपछि मूल्यमा सुधार देखिएको हो। उनका अनुसार बर्डफ्लुका कारण अण्डा उत्पादनमा ठूलो गिरावट आएको छ।
‘बर्डफ्लु’अघि दैनिक करिब ४५ लाख अण्डा उत्पादन हुँदै आएकोमा अहिले घटेर २८ लाखको हाराहारीमा पुगेको पोखरेलले बताए। उत्पादनमा आएको कमीका कारण बजारमा आपूर्ति घटेको अवस्थामा खपत बढेपछि मूल्य बढ्न थालेको उनको भनाइ छ।
यसअघि जेठको अन्तिमतिर एक क्रेट अण्डाको मूल्य ५५० रुपैयाँसम्म पुगेको थियो। त्यसपछि घट्दै ४५० रुपैयाँसम्म झरेको थियो। किसानका अनुसार एक क्रेट अण्डाको लागत मूल्य ५७३ रुपैयाँ ६० पैसा, अर्थात् प्रतिगोटा करिब १९ रुपैयाँ १२ पैसा पर्छ।
अहिले मूल्य बढ्न थाले पनि किसानले अझै उत्पादन लागतअनुसारको मूल्य पाउन नसकेको संघले जनाएको छ। अध्यक्ष पोखरेलले बजारमा माग बढ्दै गएकाले अब केही समयमै किसानले लागत मूल्य पाउने अपेक्षा रहेको बताए।
बर्डफ्लुका कारण किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै पोखरेलले प्रभावित किसानलाई सरकारले राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसमेत गरेका छन्।
उत्पादनमा आएको कमी र बजार मागमा भइरहेको वृद्धिले अण्डाको मूल्य क्रमशः सुधारोन्मुख देखिए पनि किसानको लागत मूल्यभन्दा तल रहेको अवस्थाले कुखुरापालन व्यवसाय अझै दबाबमा रहेको देखिन्छ। सरकारले बर्डफ्लु प्रभावित किसानलाई राहत उपलब्ध गराउनुका साथै उत्पादन र बजारबीचको असन्तुलन सम्बोधन गर्न दीर्घकालीन नीति लिनुपर्ने व्यवसायीहरूको भनाइ छ।
प्रतिक्रिया दिनुहोस