नेपाली बजारमा कुखुराको मासुको मूल्य फेरि बढेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले शुक्रबारदेखि लागू हुनेगरी जिउँदो तथा तयारी कुखुरा दुवैको मूल्य पुनः वृद्धि गरेको जनाएको हो।
संघका अनुसार जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँले बढाएर २४० रुपैयाँ कायम गरिएको छ। यसअघि यसको मूल्य प्रतिकिलो २३० रुपैयाँ थियो। तयारी कुखुराको मासुको मूल्यमा पनि वृद्धि गरिएको छ। नयाँ मूल्यअनुसार तयारी मासु प्रतिकिलो ३३० रुपैयाँमा बिक्री हुनेछ। यसअघि उपभोक्ताले प्रतिकिलो ३१५ रुपैयाँ तिर्नुपर्ने अवस्था थियो।
व्यवसायीले उत्पादनमा आएको कमीका कारण मूल्य समायोजन गर्नुपरेको बताएका छन्। उनीहरूका अनुसार पछिल्लो समय फैलिएको बर्डफ्लु संक्रमणका कारण ठूलो संख्यामा कुखुरा नष्ट हुँदा बजारमा आपूर्ति घटेको छ, जसको प्रत्यक्ष असर मूल्यमा परेको हो। यता पशु सेवा विभागले भने साउन १ गतेदेखि देशभर बर्डफ्लुको सक्रिय संक्रमण नरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस