२०८३, आश्विन ९ गते

१ अर्ब ३ करोडको हुण्डी कारोबारको आरोपमा धरानकी ज्योति शाही पक्राउ

बिहिवार , आश्विन ८, २०८३

करिब १ अर्ब ३ करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबरको हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले धरानकी ज्योति शाहीलाई पक्राउ गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई प्राप्त गोप्य सूचनाका आधारमा शंकास्पद व्यक्तिमाथि अनुसन्धान तथा विश्लेषण गर्ने क्रममा शाही हुण्डी कारोबारमा संलग्न रहेको खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

धरान उपमहानगरपालिका-१३ स्थायी ठेगाना भएकी शाहीलाई सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले असोज ८ गते साँझ करिब ४ः४५ बजे धरान उपमहानगरपालिका-५, खैरेनीबाट पक्राउ गरेको हो।

५२ बैंक तथा वित्तीय संस्थामा खाता

प्रहरीका अनुसार शाहीले अन्य व्यक्तिसँगको मिलेमतोमा ‘शाही मनी ट्रान्सफर’ नामक व्यवसायको प्रयोग गरी हुण्डी कारोबार गर्दै आएकी थिइन्। उक्त व्यवसाय घरेलु तथा साना उद्योग कार्यालय, इटहरी, सुनसरीमा २०६८ भदौ १६ गते दर्ता भएको र यसको दर्ता नम्बर १४८२-०६८/६९ रहेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा शाही मनी ट्रान्सफरका नाममा कृषि विकास बैंक, सेञ्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थामा खाता खोली सञ्चालन गरिएको खुलेको प्रहरीले जनाएको छ।

विदेशबाट आएको रकम स-साना भागमा पठाएको आरोप

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ती बैंक खातामार्फत विदेशमा विभिन्न व्यक्तिले आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट नेपाल भित्र्याउने गरिएको थियो।

नेपालमा रकम प्राप्त भएपछि त्यसलाई स-साना रकममा विभाजन गरी कनेक्ट आईपीएसलगायत विभिन्न विद्युतीय तथा डिजिटल माध्यमबाट असम्बन्धित व्यक्तिका बैंक खातामा पठाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ। यसरी करिब १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको रकम हुण्डीमार्फत कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाउन प्रहरीले सुनसरी जिल्ला अदालतबाट २०८३ असोज ६ गते पक्राउ अनुमति लिएको थियो। त्यसपछि संयुक्त प्रहरी टोलीले असोज ८ गते शाहीलाई पक्राउ गरेको हो। पक्राउ परेकी शाहीमाथि हुण्डी कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!