कृषि सामग्री कम्पनी लिमिटेड (केएससीएल) ले ३० हजार मेट्रिक टन युरिया मल खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।
कम्पनीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै युरिया ४६–०–० खरिद तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको हो। बोलपत्रमा सबै देशका योग्य आपूर्तिकर्ताले सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ।
बोलपत्रअनुसार खरिद गरिने युरिया मल कोलकाता वा हल्दिया बन्दरगाह हुँदै डीडीपी (Delivered Duty Paid) नेपाल आधारमा विराटनगर, वीरगन्ज र भैरहवास्थित कृषि सामग्री कम्पनीका गोदामसम्म आपूर्ति गर्नुपर्नेछ ।अन्तिम गन्तव्यसम्म मल ढुवानी गर्दा आवश्यक पर्ने बिमा पनि आपूर्तिकर्ता स्वयंले गर्नुपर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले बोलपत्र कागजात खरिदका लागि ४ लाख रुपैयाँ शुल्क तोकेको छ । बोलपत्रमा सहभागी हुने आपूर्तिकर्ताले २० हजार अमेरिकी डलर बराबरको बोलपत्र जमानतसमेत पेस गर्नुपर्नेछ ।
बोलपत्रसम्बन्धी पूर्वबोलपत्र बैठक अक्टोबर १६, २०२६ मा दिउँसो २ बजे कृषि सामग्री कम्पनीको कुलेश्वरस्थित प्रधान कार्यालयमा हुनेछ ।इच्छुक तथा योग्य बोलपत्रदाताले अक्टोबर २६, २०२६ को दिउँसो १ बजेसम्म कम्पनीको प्रधान कार्यालयमा बोलपत्र पेस गर्नुपर्नेछ । प्राप्त बोलपत्र सोही दिन दिउँसो २ बजे खोलिने कम्पनीले जनाएको छ ।
बोलपत्र पेस गर्दा प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार प्राविधिक र वित्तीय प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी गरी पेस गर्नुपर्नेछ ।बोलपत्रसम्बन्धी थप जानकारी कम्पनीको वेबसाइट तथा कुलेश्वरस्थित प्रधान कार्यालयबाट लिन सकिने कृषि सामग्री कम्पनीले जनाएको छ ।
कम्पनीले अन्तर्राष्ट्रिय बोलपत्रमार्फत मल खरिद प्रक्रिया अघि बढाएसँगै आगामी कृषि सिजनका लागि युरियाको आपूर्ति सुनिश्चित गर्ने तयारी अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस