२०८३, आश्विन ९ गते

वर्षा र पहिरोको जोखिम बढेपछि, पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

बिहिवार , आश्विन ८, २०८३

निरन्तर वर्षा र पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्गको चितवन तथा धादिङ क्षेत्रमा आज राति सवारी आवागमनमा रोक लगाइएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा समेत बिहीबार राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार साँझ ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म चितवनतर्फको पृथ्वी राजमार्ग क्षेत्र र नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन रोकिएको छ ।

निरन्तर वर्षा भइरहेकाले पहिरोको जोखिम उच्च रहेको भन्दै यात्रुको सुरक्षालाई ध्यानमा राखेर रातिको समयमा सवारी आवागमन बन्द गरिएको प्रशासनले जनाएको छ ।

बिहान ५ बजेपछि सडकको अवस्था हेरेर सवारी सञ्चालन गरिने भए पनि रातभर पहिरो जाने वा निरन्तर वर्षा भइरहेमा थप सूचना जारी गरी आवागमन रोक्न सकिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताएका छन् ।

धादिङमा पनि वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राख्दै प्रशासनले यात्रु तथा सवारी चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले बिहीबार जारी गरेको सूचनामा मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ ।

प्रशासनले जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण पालना गर्नसमेत यात्रु तथा सवारी चालकलाई अनुरोध गरेको छ ।

वर्षाका कारण सडकमा पहिरो खस्ने, सडक अवरुद्ध हुने तथा यात्रा जोखिमपूर्ण बन्न सक्ने भएकाले अत्यावश्यकबाहेक जोखिमपूर्ण समयमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!