२०८३, आश्विन ९ गते

कुलेखानीमा साइरन बजाएर दिइनेछ बाढीको पूर्वसूचना

बिहिवार , आश्विन ८, २०८३

इन्द्रसरोवर गाउँपालिकाले कुलेखानी जलाशयमा वर्षायाममा पानीको सतह बढ्दै जाँदा बाँधको सुरक्षाका लागि साइरन बजाएर चेतावनी दिने व्यवस्था गरिएको जनाएको छ ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार बाँधको मुख्य ढोका खोल्नुपर्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रका खोला तथा नदी किनारमा बसोबास गर्ने नागरिकलाई साइरनमार्फत पूर्वसूचना दिइनेछ ।

पहिलो चेतावनी स्वरूप करिब एक मिनेट लामो साइरन बजाइनेछ । यस अवस्थामा जलाशयमा पानी भरिन लागेको जनाउँदै खोला किनारमा जुनसुकै उद्देश्यले जान पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

दोस्रो चेतावनी स्वरूप करिब दुई मिनेट लामो साइरन बजाइनेछ । यसलाई उच्च सतर्कताको संकेतका रूपमा लिइनेछ । जलाशयको सतह उच्चतम बिन्दुमा पुगेको अवस्थामा बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा गर्भवतीलाई सुरक्षित स्थानमा लैजान आग्रह गरिएको छ । साथै, हेटौंडा–कुलेखानी–सिस्नेरी सडकखण्ड प्रयोग गर्दा विशेष सावधानी अपनाउन भनिएको छ ।

तेस्रो तथा अन्तिम चेतावनी स्वरूप लगातार छोटो–छोटो अन्तरालमा तीन पटक साइरन बजाइनेछ । यस अवस्थामा बाँधको मुख्य ढोका खोलिएको र नदीको सतह उच्च जोखिममा पुग्न सक्ने भएकाले नागरिकलाई तत्काल खोला किनार तथा गहिरो भाग छाडेर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । साथै, हेटौंडा–कुलेखानी–सिस्नेरी सडकखण्डमा आवतजावत नगर्न सूचित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!