चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती अवधिमा सरकारको राजस्व सङ्कलनमा वृद्धि देखिएको छ । असोज ७ गतेसम्म सरकारले २ खर्ब २ अर्ब ७२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) अनुसार असोजसम्मका लागि सरकारले निर्धारण गरेको ३ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ लक्ष्यको ६१.३९ प्रतिशत राजस्व असोज ७ गतेसम्म सङ्कलन भएको हो ।
चालु आर्थिक वर्षमा सरकारले कुल १५ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । असोज ७ गतेसम्मको सङ्कलनले वार्षिक लक्ष्यतर्फको सुरुआती प्रगति देखाएको छ । असोज महिनामा मात्रै सरकारले १८ अर्ब १४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । असोज ७ गते एकै दिन मात्रै ४ अर्ब ३४ करोड रुपैयाँ राजस्व उठेको तथ्याङ्कमा उल्लेख छ ।
असोजसम्मको लक्ष्यको तुलनामा राजस्व सङ्कलनमा देखिएको प्रगतिले चालु आर्थिक वर्षको सुरुआती महिनामा सरकारी आम्दानी परिचालनमा गति आएको देखाएको छ । गत आर्थिक वर्ष २०८२/८३ को असोज ७ गतेसम्म सरकारले १ खर्ब ७५ अर्ब ६३ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।चालु आर्थिक वर्षको सोही अवधिमा सङ्कलन भएको २ खर्ब २ अर्ब ७२ करोड रुपैयाँ गत वर्षको तुलनामा १५.४ प्रतिशत बढी हो ।
यसअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षको सुरुआती अवधिमा सरकारको राजस्व आम्दानीमा उल्लेख्य वृद्धि भएको देखिएको छ । राजस्व सङ्कलनको यो गति आगामी महिनामा पनि कायम रहन सके वार्षिक लक्ष्य प्राप्तिमा सहयोग पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस