२०८३, आश्विन ९ गते

५ झोलुङ्गे पुल र २ बेलिब्रिज बन्दै: मुख्यमन्त्री किरण थापा

बिहिवार , आश्विन ८, २०८३

बागमती प्रदेश सरकारले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धारपछि पुनर्निर्माणको कामलाई तीव्रता दिएको छ । बाढीका कारण सडक तथा पुलको सम्पर्क टुटेका क्षेत्रलाई तत्काल जोड्न प्रदेश सरकारले वैकल्पिक पुल निर्माणलाई प्राथमिकता दिएको हो ।

बिहीबार नुवाकोटको विदुर नगरपालिकामा आपतकालीन तथा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउँदै मुख्यमन्त्री किरण थापा मगरले नुवाकोट र रसुवालाई जोड्न तत्काल ५ वटा झोलुङ्गे पुल र २ वटा बेलिब्रिज जडान गर्ने घोषणा गरेका छन् ।

रसुवा–भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीको पुल बगेपछि बेलकोटगढी, विदुरलगायत स्थानीय तहको त्रिशूली अस्पतालसँगको सम्पर्क टुटेको थियो । पुल नहुँदा स्थानीय बासिन्दालाई सामान्य उपचारका लागि समेत काठमाडौं जानुपर्ने अवस्था बनेपछि प्रदेश सरकारले स्वास्थ्य सेवा र यातायात दुवै क्षेत्रमा तत्कालीन विकल्प अघि सारेको हो ।

बाढीका कारण प्रभावित नागरिकलाई उपचारमा सहजता पुर्‍याउन स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र विश्व स्वास्थ्य संगठन ढडब्लुएचओणको सहयोगमा विदुरस्थित आयुर्वेदिक अस्पतालका केही कोठा व्यवस्थापन गरी आकस्मिक स्वास्थ्य सेवा सुरु गरिएको छ ।

केन्द्रमा तत्काल ४ शय्याको आकस्मिक सेवा सञ्चालनमा ल्याइएको छ । यहाँ आकस्मिक उपचारसँगै बहिरंग (ओपीडी) र प्रसूति सेवा पनि उपलब्ध गराइने जनाइएको छ ।केन्द्रको शुभारम्भ गर्दै मुख्यमन्त्री थापा मगरले विपद् प्रभावित नागरिकलाई स्वास्थ्य उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यले सेवा सुरु गरिएको बताए ।

उनले अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण, औषधि र जनशक्तिको अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै आवश्यक परे अन्य प्रादेशिक अस्पतालबाट जनशक्ति खटाउने बताए । जनशक्ति अभाव भए तत्काल करारमा जनशक्ति लिएर भए पनि सेवा प्रभावकारी बनाउने गरी बजेट व्यवस्थापन गरिने उनको भनाइ छ ।

मुख्यमन्त्री थापाका अनुसार बागमती प्रदेशसँग उपलब्ध रहेका ५०–५० मिटरका दुईवटा बेलिब्रिज एक साताभित्र तयार हुनेछन् । स्थानीय तह तथा जनप्रतिनिधिसँग समन्वय गरी प्राथमिकताका आधारमा दुई स्थानमा ती बेलिब्रिज जडान गरिने उनले बताए ।

त्यसैगरी, रसुवादेखि नुवाकोटसम्म अत्यावश्यक पाँच स्थानमा तत्काल झोलुङ्गे पुल निर्माण गर्न छोटो अवधिको टेन्डर आह्वान गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिइसकेको उनले जानकारी दिए ।

नेपाली सेनासँग समन्वय गरेर पुरानो अर्को बेलिब्रिजसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ । दीर्घकालीन रूपमा भने प्रभावित क्षेत्रमा पक्की पुल निर्माणका लागि अध्ययनसमेत सुरु गरिएको छ ।

मुख्यमन्त्री थापाले उद्धार, उपचार तथा राहत वितरणपछि प्रदेश सरकार संघीय र स्थानीय सरकारसँग समन्वय गरेर पुनर्निर्माणमा केन्द्रित भएको बताए ।

पुल नभएका स्थानमा तत्काल वैकल्पिक सडक खोल्ने तथा आवतजावत सहज बनाउने कामलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । यसका लागि पूर्वमुख्यमन्त्री तथा स्थानीय जनप्रतिनिधिबाट प्राप्त सुझावलाई समेत आधार बनाएर काम अघि बढाइएको उनले बताए ।

बाढीपहिरोका कारण क्षतिग्रस्त पूर्वाधार पुनःस्थापना गर्दै प्रभावित नागरिकको दैनिक जीवनलाई सामान्य अवस्थामा फर्काउन तत्कालीन र दीर्घकालीन दुवै योजना अघि बढाइएको प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!