२०८३, आश्विन ९ गते

किसानको उत्पादन उपभोक्तासम्म पुग्दा ५ तहका बिचौलिया, आपूर्ति शृंखला सुधार्न सरकारको अध्ययन

सोमवार , आश्विन ५, २०८३

कृषि उत्पादन किसानको खेतबाट उपभोक्तासम्म पुग्दा पाँच तहसम्मका मध्यस्थ (बिचौलिया) संलग्न हुने गरेको सरकारले जनाएको छ। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले राष्ट्रियसभामा भएको प्रश्नोत्तरका क्रममा यस्तो जानकारी दिएकी हुन्।

राष्ट्रियसभा सदस्य रुक्मिणी कोइरालाले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले कृषि उत्पादनको आपूर्ति शृंखलामा देखिएको तहगत मध्यस्थताका कारण किसान र उपभोक्ताबीच मूल्यमा ठूलो अन्तर देखिने गरेको बताइन्। मन्त्री चौधरीका अनुसार कृषि उपजको आपूर्ति शृंखलामा देखिएको समस्या समाधान गर्न मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कार्यदलले प्रमुख पाँच कृषि बजारमा आपूर्ति शृंखलाको अवस्थाबारे अध्ययन गर्नेछ।

'आपूर्ति शृंखला सुधारका लागि सुझाव कार्यदल गठन गरेका छौँ। पाँच तहसम्म बिचौलिया (मध्यस्थ) देखिएको छ,' मन्त्री चौधरीले भनिन्, 'आपूर्ति शृंखला सुधार गर्न पाँचवटा मुख्य कृषि बजारमा अध्ययन गर्न भनिएको छ।'

सरकारको अध्ययनले किसानबाट उत्पादन निस्किएपछि उपभोक्तासम्म पुग्दासम्म थपिने विभिन्न तहका मध्यस्थ, तिनको भूमिका तथा मूल्य निर्धारणको प्रक्रियालाई हेर्नेछ।

मुख्य बालीमा समर्थन मूल्य, थप बालीबारे अध्ययन

मन्त्री चौधरीले किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सरकारले मुख्य कृषि बालीमा समर्थन मूल्य तोकेको बताइन्। अन्य बालीमा समेत समर्थन मूल्य निर्धारण गर्ने विषयमा अध्ययन भइरहेको उनको भनाइ छ। तर कृषि उपजको मूल्य निर्धारण र खरिदको जिम्मेवारी फरक–फरक निकायसँग रहेकाले प्रभावकारी कार्यान्वयनका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक रहेको उनले बताइन्।

'कृषि मन्त्रालयले मूल्य तोक्ने र आपूर्ति मन्त्रालयले खरिद गर्ने भएकाले समन्वयमा काम गर्नुपर्ने हुन्छ,' मन्त्री चौधरीले भनिन्। सरकारले समर्थन मूल्यको दायरा विस्तारसँगै कृषि उपजको आपूर्ति शृंखला व्यवस्थित गर्न सके किसानले उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले पनि अनावश्यक मूल्यवृद्धिको भार कम बेहोर्नुपर्ने अपेक्षा गरेको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!