काठमाडौं उपत्यकाका नदी तथा खोलामा बाढीको सतह बढ्न थालेपछि ट्राफिक प्रहरीले नदी करिडोर हुँदै यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
ललितपुरको च्यासलस्थित पुललाई बाढीले छोएपछि उक्त पुलबाट आवतजावतमा समेत रोक लगाइएको छ। जोखिमयुक्त क्षेत्रमा ट्राफिक प्रहरी परिचालन गरी निगरानी बढाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ।
उपत्यकाका नदीमा जलसतह बढेपछि ट्राफिक प्रहरीले माइकिङ गर्दै नदी करिडोर तथा तटीय क्षेत्रमा यात्रा नगर्न सर्वसाधारणलाई सचेत गराएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार खोला तथा नदीमा पानीको सतह बढेसँगै तटीय क्षेत्रको निगरानी बढाइएको छ।
उनले भने, ‘काठमाडौंका खोला–नदीहरूमा जलसतह बढेपछि तटीय क्षेत्रहरूमा पनि निगरानी बढाइएको छ। करिडोरमा यात्रा नगर्न भन्दै माइकिङ गरिएको छ। ’प्रहरीले नदी तथा खोला किनारका सडकमा पार्किङ गरिएका सवारीसाधन हटाउन समेत आग्रह गरेको छ। च्यासल पुललगायत जोखिमयुक्त स्थानमा प्रहरी परिचालन गरिएको सुवेदीले जानकारी दिए।
मौसम विज्ञान विभागका मौसमविद्का अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। उक्त प्रणाली पूर्वबाट पश्चिमतर्फ सर्दै गएको बताइएको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार भोलिदेखि पूर्वी क्षेत्रको तुलनामा बागमती प्रदेशदेखि पश्चिमतर्फका जिल्लामा बढी वर्षा हुने सम्भावना छ। यससँगै नदी तथा खोलामा जलसतह थप बढ्न सक्ने भएकाले नदी किनार र करिडोर क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस