लगातारको वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि देशका विभिन्न क्षेत्रमा मुख्य तथा भित्री सडकहरू प्रभावित भएका छन्। सडक अवरुद्ध हुँदा कतिपय जिल्लामा यातायात पूर्णरूपमा बन्द गरिएको छ भने जोखिमयुक्त क्षेत्रमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
सडक विभाग तथा सम्बन्धित निकायका अनुसार ललितपुरको कान्तिलोकपथ पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ। बागमती गाउँपालिका–३ क्षेत्रमा पहिरो खसेपछि उक्त सडकमा यातायात सञ्चालन हुन सकेको छैन।
सोलुखुम्बुमा सिद्धिचरण लोकमार्गसहित जिल्लाका विभिन्न भित्री सडकमा बाढी तथा पहिरोको जोखिम बढेको छ। भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै असोज १० देखि १२ गतेसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यकबाहेकका सवारीसाधन तथा पैदल यात्रुको आवतजावतमा रोक लगाइएको छ।
पाँचथरको तुम्बेवा गाउँपालिका–२ स्थित नावाखोलामा आएको बाढीले तमोर–कोरिडोर सडक पूर्णरूपमा अवरुद्ध भएको छ। सडकमा क्षति पुगेपछि उक्त क्षेत्रमा यातायात प्रभावित भएको हो।
भोजपुरमा मध्यपहाडी लोकमार्गसहित जिल्लाका विभिन्न भित्री सडकमा जोखिम बढेको छ। सम्भावित क्षति रोक्न रातिको समयमा यातायात सञ्चालनमा कडाइ गरिएको छ। एम्बुलेन्स, दमकल तथा अत्यावश्यक खाद्यान्न बोकेका सवारीसाधनलाई भने नजिकको प्रहरी इकाइसँग समन्वय गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।
इलाममा मेची राजमार्ग, मेची कोरिडोरलगायत सडकमा बाढी तथा पहिरोको जोखिम बढेपछि असोज ८ देखि ११ गतेसम्म साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमामा पर्ने भँडारे खोलामा आएको बाढीका कारण सिद्धिचरण लोकमार्गसमेत प्रभावित भएको छ।
यस्तै, काभ्रेमा बाढी तथा पहिरोको जोखिमका कारण बीपी राजमार्गका विभिन्न खण्डमा रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ। असोज ८ देखि ११ गतेसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक्ने व्यवस्था गरिएको छ। रोशी गाउँपालिका–७ कित्तेबेसी क्षेत्रमा पहिरोका कारण बीपी राजमार्ग प्रभावित भएको छ।
सम्बन्धित निकायले वर्षा अझै जारी रहन सक्ने भएकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेका छन्। बाढी, पहिरो तथा सडक कटानका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भन्दै अत्यावश्यकबाहेक लामो दूरी तथा रातिको यात्रा नगर्न पनि यात्रुलाई आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस