निरन्तर वर्षासँगै पहिरोको जोखिम बढेपछि देशका दुई प्रमुख राजमार्ग नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्ग बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार बिहान ७ः१५ बजे सूचना जारी गर्दै नारायणगढ–मुग्लिन सडकखण्डमा अर्को सूचना जारी नभएसम्म सवारी आवागमन बन्द रहने जनाएको छ।
बिहीबारदेखि चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रशासनले जनाएको छ। सडकमा खसेको पहिरो हटाउने काम जारी रहेकाले यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै सडक बन्द गरिएको हो।
निरन्तर वर्षाका कारण पृथ्वी राजमार्गमा पनि सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा रोक लगाएको जनाएको हो। दुई दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि आवागमन जोखिमपूर्ण बनेको प्रशासनले जनाएको छ।
असोज ११ सम्म भारी वर्षाको चेतावनी
मौसम विज्ञान विभागले आगामी असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी जारी गरेको छ। वर्षाका कारण थप विपद् तथा जोखिम निम्तिन सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न राजमार्गमा आवागमन रोकिएको धादिङ प्रशासनले जनाएको छ।
प्रशासनले अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन नगर्नसमेत आग्रह गरेको छ। नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग काठमाडौंलाई देशका विभिन्न जिल्ला तथा प्रमुख व्यापारिक र यातायात केन्द्रसँग जोड्ने महत्वपूर्ण सडकमार्ग हुन्। दुवै सडकखण्ड बन्द हुँदा लामो दूरीका यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन प्रभावित हुने भएको छ।
प्रतिक्रिया दिनुहोस