चितवन जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यास अभावमा परेका सर्वसाधारणलाई सिधै प्रशासनमा सम्पर्क गर्न आग्रह गरेको छ। विशेषगरी एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, छात्रावासमा बस्ने विद्यार्थी तथा आश्रममा आश्रित व्यक्तिलाई आवश्यक परे घरमै ग्यास सिलिन्डर उपलब्ध गराउने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय, ग्यास उद्योगी तथा आधिकारिक डिलरबीच भएको छलफलपछि अप्ठ्यारो अवस्थामा रहेका नागरिकलाई डिलर र सब–डिलरमार्फत घरमै ग्यास पुर्याउने व्यवस्था गरिएको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अशक्त, अपाङ्गता भएका तथा आफैं ग्यास ल्याउन नसक्ने व्यक्तिले ग्यास नपाएको जानकारी प्राप्त भएमा सम्बन्धित उद्योगसँग समन्वय गरी घरमै ग्यास पठाइने व्यवस्था मिलाइएको बताए।
प्रशासनले ग्यास अभाव भएका अन्य सर्वसाधारणलाई समेत समस्या परे उपलब्ध टोल–फ्री नम्बर मार्फत सम्पर्क गर्न अनुरोध गरेको छ।
चितवनमा हाल बाबा ग्यास, साइबाबा ग्यास र नेपाल ग्यास उद्योग सञ्चालनमा छन् भने गैँडाकोटस्थित जानकी ग्यास ले पनि चितवन क्षेत्रलाई सेवा दिँदै आएको छ। उद्योगीहरूले हाल बजारमा ग्यासको आपूर्ति पर्याप्त रहेकाले विगतजस्तो अभाव नहुने बताएका छन्।
बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार पछिल्लो समय ग्यासको आपूर्ति उल्लेख्य रूपमा बढेकाले बजारमा ग्यास अभाव हुने अवस्था नरहेको र उपभोक्ताले अनावश्यक रूपमा ग्यास सञ्चित नगर्नुपर्ने अवस्था रहेको छ।
प्रतिक्रिया दिनुहोस