प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सदनमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन निर्देशन दिएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख अर्यालले प्रतिपक्षको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताए। त्यसपछि उनले प्रधानमन्त्रीलाई प्रतिनिधिसभाको बैठकमा उपस्थित भई सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन्।
सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिए।
प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्ति तथा सांसदहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलले लामो समयदेखि सदनमा विरोध गर्दै आएका थिए।
सभामुखको रुलिङपछि प्रतिपक्षी दलका सांसदहरूले विरोध स्थगित गर्दै आ–आफ्नो आसन ग्रहण गरेका थिए।
प्रतिक्रिया दिनुहोस