२०८३, श्रावण २३ गते

आजको शेयर बजार: दोहोरो अंकले घट्यो नेप्से, कारोबार भने ४ अर्ब ६२ करोड नाघ्यो

बिहिवार , श्रावण २१, २०८३

बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा बन्द भएको हो। यससँगै सेन्सेटिभ परिसूचक २.६२ अंक, फ्लोट परिसूचक १.०३ अंक र सेन्सेटिभ फ्लोट परिसूचक ०.९१ अंकले ओरालो लागेको छ।

बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ३४७ कम्पनीको १ करोड ८ लाख ४ हजार कित्ता सेयर ६० हजार ३८१ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन ४ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

यस दिन बजारमा ६४ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ। समग्र बजारमा बिक्री दबाब देखिए पनि केही कम्पनीका लगानीकर्ताले आकर्षक प्रतिफल पाए।

अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लाग्दै १५ प्रतिशतले बढ्यो। कम्पनीको सेयर मूल्य ५३ रुपैयाँ १० पैसा बढेर ४०७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भयो। यसबाहेक कालंगा हाइड्रोपावर, एनआईबीएल समृद्धि फण्ड, एनआईबीएल स्टेबल फण्ड र सानिगाढ हाइड्रोपावरको सेयर मूल्यमा पनि उल्लेख्य वृद्धि देखियो।

कारोबार रकमका आधारमा रिडी पावर अग्रस्थानमा रह्यो। कम्पनीको ४७ करोड २४ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। त्यसपछि आँखुखोला जलविद्युतको २६ करोड ५९ लाख रुपैयाँ, सोलु हाइड्रोपावरको २३ करोड ७९ लाख रुपैयाँ, नेशनल हाइड्रोपावरको १९ करोड ४२ लाख रुपैयाँ र खानीखोला हाइड्रोपावरको १६ करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

उपसमूहगत रूपमा हेर्दा १३ मध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने व्यापार उपसमूह मात्रै ०.५९ प्रतिशतले बढेको छ। उत्पादन तथा प्रशोधन उपसमूहमा सबैभन्दा ठूलो गिरावट देखिएको छ, जसको परिसूचक ९३.०४ अंकले घटेको छ।

यता, एलएस होराइजन–१२ योजनाको इकाई मूल्य सबैभन्दा धेरै ६.५० प्रतिशतले घटेको छ। समग्रमा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि बजारमा लगानीकर्ताको मनोबल केही कमजोर देखिएको छ। यद्यपि कारोबार रकममा भएको वृद्धि र केही कम्पनीमा देखिएको सकारात्मक प्रदर्शनले बजारमा छनोट आधारित लगानी भने कायम रहेको संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!