२०८३, भाद्र ८ गते

images

निजी क्षेत्रको आत्मविश्वास ‘इतिहासकै न्यून’, पहिले विश्वासको वातावरण बनाऔँ : अन्जन श्रेष्ठ

आइतवार , भाद्र ७, २०८३

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास बढाउन र व्यवसायीहरूको आत्मविश्वास निर्माण गर्नुपर्ने बताएका छन्।

इक्यानले आइतबार आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले नेपालको निजी क्षेत्रको आत्मविश्वास अहिले इतिहासकै न्यून अवस्थामा पुगेको दाबी गरे। राजनीतिक परिवर्तन र प्राकृतिक प्रकोपजस्ता अनेक चुनौतीका बीच पनि निजी क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउँदै आएको भए पनि पछिल्ला घटनाक्रमले व्यवसायी र युवालाई थप त्रसित बनाएको उनको भनाइ छ।

'समस्या थुप्रै छन्, तर सबैभन्दा पहिलो कुरा निजी क्षेत्रलाई विश्वास गर्नुपर्‍यो, निजी क्षेत्रको आत्मविश्वास बढाइदिनुपर्‍यो,' उनले भने, 'अहिले निजी क्षेत्रको आत्मविश्वास इतिहासमै सबैभन्दा न्यून अवस्थामा छ। त्यसलाई सबैभन्दा पहिला विश्वासको वातावरण बनाएर पुनःस्थापित गर्नुपर्छ।'

श्रेष्ठले निजी क्षेत्रप्रति अविश्वास र शंकाको दृष्टिकोण राखेर देशको औद्योगीकरण र आर्थिक विकास सम्भव नहुने बताए।

‘एउटा उद्योग होइन, समग्र औद्योगिक वातावरणमा सोच्नुपर्छ’
सरकारले उद्योग सञ्चालन गर्नु गलत नभए पनि कुनै एउटा उद्योगलाई मात्रै केन्द्रमा राखेर औद्योगीकरणको नीति बनाउन नहुने श्रेष्ठको भनाइ थियो। हेटौंडा कपडा उद्योग सञ्चालनका विषयमा निजी क्षेत्रले उद्योग बन्द गराउन खोज्न सक्ने आशंका व्यक्त गरिएको प्रसंग उल्लेख गर्दै उनले यस्तो मानसिकताले औद्योगीकरणको वातावरण नबन्ने टिप्पणी गरे।

'हेटौंडा कपडा उद्योग चल्यो भने व्यापारीहरूले आँखा लगाउँछन्, बन्द गराउन खोज्छन् भन्ने किसिमको मानसिकता किन लिने ?' उनले प्रश्न गरे।

उनले व्यंग्यात्मक शैलीमा भने, 'नेपालमा झाँक्रीहरू थुप्रै छन्, लगेर फुकफाक गरे हुन्छ। नभए खुर्सानी र कागती झुण्ड्याए पनि हुन्छ, कसैको आँखा लाग्दैन। तर यस्तो सोच बनाएर देशमा औद्योगीकरण हुँदैन।'

श्रेष्ठले नेतृत्व तहले निजी क्षेत्रलाई प्रतिस्पर्धी वा शंकाको दृष्टिले हेर्नुभन्दा आर्थिक विकासको साझेदारका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिए। उनका अनुसार सरकारले आफैं उद्योग सञ्चालन गर्ने निर्णय गरे पनि त्यससँगै निजी क्षेत्रलाई कसरी विस्तार गर्ने, उत्पादन बढाउने र लगानी आकर्षित गर्ने भन्ने स्पष्ट औद्योगिक नीति आवश्यक छ।

नेपालमा खपत हुने कपडाको ठूलो हिस्सा स्वदेशमै उत्पादन गर्न सक्ने गरी नीति तथा औद्योगिक वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। यसका लागि एउटा उद्योग खोल्ने वा सञ्चालन गर्नेभन्दा पनि उत्पादन, लगानी, बजार, प्रविधि र आपूर्तिको समग्र औद्योगिक वातावरण निर्माण गर्नुपर्ने उनले बताए।

व्यवसायीले दैनिक रूपमा नाफा–घाटा, बजारको जोखिम र विभिन्न चुनौती सामना गर्दै पनि व्यवसाय अघि बढाइरहेको उल्लेख गर्दै श्रेष्ठले उद्यमीको मनोबल गिराउने र हुर्मत लिने कामले आर्थिक विकासमा नकारात्मक असर पर्ने बताए।

उनले सरकार र निजी क्षेत्रबीच विश्वासको सम्बन्ध बलियो बनाउन सके मात्रै उद्योग विस्तार, रोजगारी सिर्जना र अर्थतन्त्रको विकासले गति लिने धारणा राखे।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!