२०८३, भाद्र ८ गते

images

काठमाडौंका निजी होस्टलमाथि प्रशासनको कडाइ, एक महिनाभित्र २१ मापदण्ड पूरा गर्न निर्देशन

आइतवार , भाद्र ७, २०८३

विद्यार्थीमाथि दुर्व्यवहार, मनपरी शुल्क असुली, कमजोर पूर्वाधार तथा सरसफाइ र खानपानमा लापरवाही भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजी रूपमा सञ्चालन भइरहेका छात्रावासमाथि कडाइ गरेको छ।

जिल्ला प्रशासन कार्यालयले काठमाडौं जिल्लाभित्र सञ्चालनमा रहेका सबै निजी छात्रावासलाई तोकिएका २१ वटा मापदण्ड एक महिनाभित्र पूरा गर्न निर्देशन दिएको हो। कार्यालयका अनुसार छात्रावासमा बस्ने विद्यार्थीलाई मानवीय व्यवहार नगरिने, यातना दिने तथा तोकिएको भन्दा बढी शुल्क असुल गर्ने गरेको गुनासो बारम्बार प्राप्त हुँदै आएको छ। कमजोर भौतिक पूर्वाधार, सरसफाइको अभाव तथा खाना र पिउने पानीको स्वच्छतामा लापरवाही हुने गरेको पनि प्रशासनले जनाएको छ।

महिला र पुरुषका लागि आवश्यक सुरक्षा व्यवस्था, पर्याप्त शौचालय, स्नानघर तथा सुत्ने कोठाको व्यवस्था नभएको समेत पाइएको छ। केही छात्रावासमा लागुऔषधको दुरुपयोग हुने तथा विद्यार्थीबीच झडप हुँदा ज्यान जानेसम्मका घटना हुने गरेको गुनासोसमेत कार्यालयमा पुगेको छ। अध्ययन कक्ष, पुस्तकालय तथा मनोरञ्जन कक्षजस्ता विद्यार्थीका लागि आवश्यक सुविधा पर्याप्त नभएको पनि प्रशासनले जनाएको छ।

यस्ता गुनासोका आधारमा जिल्ला प्रशासन कार्यालयले निजी छात्रावासको नियमित तथा आकस्मिक अनुगमन गर्दै आएको छ। अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएका केही छात्रावासलाई तीन लाख रुपैयाँसम्म जरिवाना गर्नुका साथै शिलबन्दीसमेत गरिएको कार्यालयले जनाएको छ।

शुल्क सार्वजनिकदेखि २४ घण्टा वार्डेनसम्म अनिवार्य

प्रशासनले जारी गरेको २१ बुँदे मापदण्डअनुसार छात्रावास अनिवार्य रूपमा सम्बन्धित निकायमा दर्ता तथा नवीकरण भएको हुनुपर्नेछ। बसोबासका लागि पर्याप्त प्रकाश र हावा आउने फराकिला कोठा, व्यवस्थित पुस्तकालय र अध्ययन कक्षको व्यवस्था गर्नुपर्नेछ।

छात्रावासभित्र सरसफाइ र खाद्यान्नको गुणस्तर कायम गर्नुपर्ने, स्वच्छ पिउने पानी, विद्युत्, इन्टरनेट तथा आवश्यक वैकल्पिक व्यवस्था गर्नुपर्ने निर्देशन दिइएको छ। त्यस्तै, छात्रावासले शुल्क तथा दररेट सार्वजनिक गरी सोहीअनुसार मात्र रकम लिनुपर्नेछ। कोठा र शौचालयजस्ता संवेदनशील स्थानबाहेक अन्य क्षेत्रमा निगरानीका लागि सीसीटीभी जडान गर्नुपर्नेछ। छात्रावासमा बस्ने विद्यार्थी तथा सञ्चालकको अद्यावधिक विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने, चौबीसै घण्टा जिम्मेवार वार्डेन र निजी सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख छ।

विद्यार्थी र सञ्चालकबीच अनिवार्य सम्झौता गर्नुपर्ने, आगलागी नियन्त्रण उपकरण र प्राथमिक उपचार सामग्री राख्नुपर्ने तथा आपत्कालीन अवस्थामा सम्पर्क गर्नुपर्ने सरकारी निकायका फोन नम्बर सबैले देख्ने स्थानमा राख्नुपर्नेछ। महिला र पुरुष दुवैका लागि सञ्चालन हुने छात्रावासमा छुट्टाछुट्टै कार्यालय तथा आवास भवनको व्यवस्था गर्नुपर्नेछ। साथै, विद्यार्थीलाई छात्रावासको मर्यादा, अनुशासन र व्यवहारसम्बन्धी प्रशिक्षण दिँदै हप्तामा कम्तीमा एकपटक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले तोकिएको एक महिनाभित्र आवश्यक मापदण्ड पूरा गर्न सबै निजी छात्रावास सञ्चालकलाई सूचित गरेको छ। मापदण्ड कार्यान्वयन नगर्ने छात्रावासमाथि थप अनुगमन र कानुनी कारबाही हुन सक्ने प्रशासनको संकेत छ।

प्रशासनले तोकेका २१ मापदण्ड: 

१- छात्रावास सञ्चालन सम्बन्धमा नेपाल सरकार एवं सम्बन्धित स्थानीय तहले जारी गरेका मापदण्डहरुको पूर्ण रुपमा पालना गर्नुपर्ने ।

२- छात्रावासमा बस्ने विद्यार्थी एवं व्यक्तिहरुलाई मानवीय व्यवहार गर्ने, सुरक्षा एवं मर्यादापूर्ण रुपमा रहने वातावरण तयार गर्ने ।

३- छात्रावास भित्रको आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउने कुनै प्रकारको लागु औषध एवं मादक पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा बन्देज लगाउनुपर्ने ।

४- तोकिएको निकायहरुमा छात्रावास अनिवार्य रुपमा दर्ता एवं नवीकरण गर्नुपर्ने ।

५- छात्रावासको लागि उचित भौतिक पूर्वाधार (जस्तैः प्रत्येक कोठाहरु फराकिलो खुला पर्याप्त प्रकाश तथा हावा छिर्ने प्रकृतिको) हुनुपर्ने ।

६- व्यवस्थित पुस्तकालय एवं अध्ययन कक्षको प्रबन्ध गर्नुपर्ने ।

७- छात्रावासको सरसफाइ र खाद्यान्नको गुणस्तर कायम गर्नुपर्ने ।

८- छात्रावासमा स्वच्छ पिउने एवम् अन्य प्रयोजनको पानीको पर्याप्तता, विद्युत तथा ईन्टरनेटको उपलब्धता एवम् बैकल्पिक व्यवस्था समेत गरेको हुनुपर्ने ।

९- छात्रावासमा लाग्ने शुल्क तथा दररेट सार्वजनिक गरी सोही अनुसार मात्र रकम लिनुपर्ने ।

१०- कोठा र शौचालय जस्ता संवेदनशील स्थान बाहेक अन्य स्थानको निगरानीको लागि CCTV जडान गर्नुपर्ने ।

११- छात्रावास सञ्चालक तथा छात्रावासमा बस्ने विद्यार्थी एवं व्यक्तिहरुको अद्यावधिक विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने ।

१२- छात्रावासमा बस्ने विद्यार्थी एवम् अन्य व्यक्तिहरुले समेत मर्यादित र अनुशाससित व्यवहार गर्नुपर्ने ।

१३- छात्रावास रहेको स्थान वरपरका छरछिमेकीहरुलाई छात्रावासको कारणबाट कुनै प्रकारको वाधा, व्यवधान एवम् होहल्ला गर्न नदिने व्यवस्था मिलाउनुपर्ने ।

१४- छात्रावासमा चौविसै घण्टा जिम्मेवार वार्डेन र निजी सुरक्षाकर्मीको व्यवस्था हुनुपर्ने ।

१५- छात्रावासमा बस्ने विद्यार्थी र सञ्चालकको बीचमा अनिवार्य सम्झौता हुनुपर्ने ।

१६- अन्य व्यक्तिको घर भाडामा लिई सञ्चालन गरेको भएमा छात्रावास सञ्चालकहरुले घरधनीसँग अनिवार्य रुपमा घरभाडा सम्झौता गरेको हुनुपर्ने ।

१७- छात्रावासको सञ्चालक र वार्डेनको व्यक्तिगत विवरण अनिवार्य रुपमा यस कार्यालय र नजिकको प्रहरी ईकाईलाई उपलब्ध गराउनुपर्ने ।

१८- छात्रावासमा Fire Extinguisher, First Aid लगायतका अत्यावश्यकीय सामग्रीहरु अनिवार्य रुपमा राखुपर्ने ।

१९- महिला तथा पुरुष दुवैको लागि सञ्चालनमा रहेको छात्रावास भए अलग्गै कार्यालय र आवास भवनको व्यवस्था अनिवार्य गर्नुपर्ने ।

२०- छात्रावासमा आपत्कालिन अवस्थामा सम्पर्क गर्नुपर्ने सरकारी निकायका फोन नं. हरु सबैले देखिने गरी राखेको हुनुपर्ने ।

२१- छात्रावासमा रहने विद्यार्थी एवम् अन्य व्यक्तिहरुलाई समय समयमा मनोरञ्जन एवम् छात्रावासको मर्यादा र अनुशासन कायम राख्न तद् अनुरुपको प्रशिक्षण कक्ष हुनुपर्ने र सो बमोजिम हप्तामा कम्तिमा एकपटक प्रशिक्षण समेत गर्ने/गराउने ।  

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!