नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), नेपालबीच देशमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यलाई अघि बढाउने समझदारी भएको छ।
एनसीसीका अध्यक्ष कमलेश अग्रवाल र एनआरएनए नेपालका अध्यक्ष डा हेमराज शर्माले काठमाडौंमा आयोजित एक कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीअनुसार दुवै संस्थाले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, व्यापार तथा उद्योग विस्तार र उद्यमशीलताको विकासका लागि संयुक्त रूपमा काम गर्नेछन्।
एनसीसी अध्यक्ष अग्रवालले यो समझदारीले गैरआवासीय नेपालीको पूँजी, ज्ञान र अनुभवलाई नेपालको अर्थतन्त्रसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले स्वदेशी तथा गैरआवासीय नेपाली व्यावसायिक समुदायबीच सहकार्य सुदृढ गर्दै ज्ञान हस्तान्तरण, नवप्रवर्तन र प्रविधिको आदानप्रदानका लागि समेत समझदारीले मार्गप्रशस्त गर्ने बताए।
“आजको समझदारीपत्र केवल कागजमा सीमित हुनु हुँदैन,” उनले भने, “यसलाई व्यवहारमा उतार्दै लगानी, व्यापार, रोजगारी र आर्थिक रूपान्तरणका क्षेत्रमा ठोस परिणाम दिनुपर्छ।”
लगानी सम्मेलनदेखि व्यापारिक शिखर सम्मेलनसम्म
समझदारीअनुसार एनसीसी र एनआरएनएले संयुक्त रूपमा लगानी सम्मेलन, रोड–शो, व्यापारिक शिखर सम्मेलन तथा विभिन्न व्यावसायिक कार्यक्रम आयोजना गर्नेछन्। यस्ता कार्यक्रममार्फत विदेशी तथा गैरआवासीय नेपाली लगानीकर्ता र नेपालका स्थानीय व्यवसायीबीच प्रत्यक्ष सम्पर्क विस्तार गर्दै व्यावसायिक साझेदारीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।
त्यसैगरी निर्यातमुखी उद्योगको प्रवर्द्धन, साना तथा मझौला उद्यम र नयाँ उद्यमलाई सहयोग तथा संयुक्त पहल सञ्चालन गर्ने विषयमा पनि सहकार्य गरिनेछ। क्षमता अभिवृद्धिका लागि तालिम, कार्यशाला र सेमिनार आयोजना गर्नुका साथै दुवै संस्थाले आफ्नो अनुभव, विशेषज्ञता र उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने सहमति गरेका छन्।
कानुनी जटिलता हटाउन जोड
एनआरएनए नेपालका अध्यक्ष डा शर्माले नेपालमा रहेका विभिन्न कानुनी र नीतिगत जटिलताका कारण वैदेशिक लगानी भित्र्याउन समस्या भइरहेको बताए। उनले एनसीसी र एनआरएनएबीच भएको समझदारीले लगानी तथा व्यापार प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधार र सहज व्यावसायिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
समझदारीपत्रमा व्यावसायिक वातावरण सुधारका लागि आवश्यक नीतिगत सुधारको सिफारिस गर्ने तथा सरकार र सम्बन्धित सरोकारवालासँग संवाद र समन्वय गर्ने विषयमा समेत सहकार्य गर्ने उल्लेख छ। अध्यक्ष अग्रवालले आर्थिक नीति र कानुनी संरचनामा स्थिरता तथा स्पष्टता नहुँदासम्म स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षित गर्न कठिन हुने बताए।
अध्यक्ष शर्माले विश्वभर छरिएर रहेका नेपालीको सीप, ज्ञान, अनुभव र पूँजीलाई नेपालको विकाससँग जोड्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइने बताए। उनले एनआरएनएलाई विदेशमा बस्ने नेपालीको संस्था मात्र नभई विश्वभर रहेका नेपालीलाई एकीकृत गर्दै नेपालको आर्थिक, सामाजिक तथा लगानी विकासमा योगदान पुर्याउने साझा मञ्चका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए।
दुवै संस्थाबीचको यो सहकार्यले गैरआवासीय नेपालीको लगानी नेपाल भित्र्याउने, स्थानीय व्यवसायीसँग साझेदारी विस्तार गर्ने र लगानीका लागि आवश्यक नीतिगत सुधारमा दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस