अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेपालका सबै जीवित पूर्वप्रधानमन्त्रीविरुद्ध उजुरी परेको अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले बताएका छन्।
बिहीबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै प्रमुख आयुक्त राईले सबै पूर्वप्रधानमन्त्रीविरुद्ध उजुरी परेको जानकारी दिएका हुन्।
'पूर्वप्रधानमन्त्रीमाथि उजुरीको कुरा गर्नुभयो। सबैको उजुरी आएको छ, हेर्छौं। यसभन्दा बढी भन्न मिलेन। उजुरीबारे हेर्दै छौँ,' राईले भने। उनका अनुसार पूर्वप्रधानमन्त्रीविरुद्ध परेका उजुरीमाथि आयोगले अध्ययन गरिरहेको छ। तर, उजुरीमा के आरोप लगाइएको छ र आयोगले कुन चरणमा अनुसन्धान अघि बढाएको छ भन्नेबारे उनले थप विवरण खुलाएनन्।
को-को छन् पूर्वप्रधानमन्त्रीको सूचीमा?
हाल नेपालमा जीवित पूर्वप्रधानमन्त्री तथा पूर्वमन्त्रिपरिषद् अध्यक्ष गरी आठ जना छन्। उनीहरूमा सुशीला कार्की, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्द छन्। त्यस्तै, पूर्वमन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी पनि जीवित पूर्वसरकार प्रमुखको सूचीमा छन्।
अख्तियार प्रमुख राईले भने आयोगमा परेका उजुरीमाथि अध्ययन भइरहेको भन्दै अनुसन्धानको विषयमा थप विवरण दिन अस्वीकार गरेका छन्।
प्रतिक्रिया दिनुहोस