नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन्। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष बिहीबार शपथ लिएपछि रावलले आजै पदबहाली गरेका हुन्।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका हुन्। शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले संक्षिप्त मन्तव्य दिँदै रावललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
सहायक निर्देशकबाट डेपुटी गभर्नरसम्म
रावलले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा नेपाल राष्ट्र बैंकको सेवा प्रवेश गरेका थिए। त्यसपछि २०६९ सालमा उपनिर्देशक र २०७५ सालमा निर्देशकमा पदोन्नति भएका थिए।

२०७९ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका रावलले त्यसपछि नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएका थिए।
बैंकिङ क्षेत्रको लामो अनुभव र सुपरिवेक्षणसम्बन्धी जिम्मेवारी सम्हालेका रावलको डेपुटी गभर्नर नियुक्तिसँगै केन्द्रीय बैंकको नेतृत्वमा उनको अनुभव उपयोग हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस