काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढंगले सञ्चालन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौं र ठमेल पर्यटन विकास परिषद्बीच सहमति भएको छ।
ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित टोलीले बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग गरेको भेटमा ठमेललाई चौबीसै घण्टा पारिवारिक, सुरक्षित र पर्यटकमैत्री गन्तव्यका रूपमा सञ्चालन गर्न सहकार्य गर्ने सहमति भएको हो।
परिषद्का महासचिव पशुपति कँडेलका अनुसार ठमेललाई २४सै घण्टा सञ्चालन हुने पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रशासन र परिषद्बीच आवश्यक समन्वय गर्ने सहमति भएको छ। ठमेल पर्यटन विकास परिषद्का तत्कालीन अध्यक्ष भविश्वर शर्माको पहलमा २०८१ सालमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले ठमेललाई २४सै घण्टा सञ्चालन गर्ने घोषणा गरेका थिए।
सुरक्षा र ट्राफिक व्यवस्थापनमा जोड
प्रमुख जिल्ला अधिकारीसँगको भेटमा ठमेल क्षेत्रको शान्ति–सुरक्षा, ट्राफिक व्यवस्थापन, सडक बालबालिकाको उचित व्यवस्थापन तथा हकर्स व्यवस्थापनलगायत विषयमा छलफल भएको परिषद्ले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी पौडेलले ठमेललाई थप व्यवस्थित बनाउन आवश्यकताअनुसार सुरक्षा निकाय परिचालन गर्ने प्रतिबद्धता जनाएका छन्। उनले ठमेल पर्यटन विकास परिषद्सँग प्रभावकारी समन्वय गरेर अघि बढ्ने बताएका छन्।
पर्यटनमैत्री वातावरण बनाउने लक्ष्य
परिषद्का अध्यक्ष राजुमान डङ्गोलले ठमेलको दीर्घकालीन शान्ति, सुरक्षा र पर्यटनमैत्री वातावरण निर्माणका लागि विभिन्न सरकारी तथा सरोकारवाला निकायसँग समन्वय गरेर काम भइरहेको बताए। उनका अनुसार ठमेललाई २४सै घण्टा सञ्चालन गर्ने अवधारणालाई प्रभावकारी बनाउन सुरक्षा, यातायात, सरसफाइ तथा व्यवसाय सञ्चालनसँग जोडिएका विषयलाई व्यवस्थित गर्दै लैजान आवश्यक छ।
परिषद्ले ठमेलको विकास र सुरक्षाका लागि प्रशासन, सुरक्षा निकाय, व्यवसायी तथा अन्य सरोकारवाला पक्षबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया दिनुहोस