नेपालको एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। पछिल्लो एक वर्षमा ढोरपाटन पुग्ने पर्यटकको संख्या ३७ हजार नाघेको छ, जसमा अधिकांश आन्तरिक पर्यटक रहेका छन्।
ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३७ हजार ५२० पर्यटक ढोरपाटन पुगेका छन्। त्यसमध्ये ३७ हजार २७० जना नेपाली र करिब २५० जना विदेशी तथा सार्क राष्ट्रका पर्यटक रहेको कार्यालयका रेञ्जर सागर सुवेदीले जानकारी दिए। ढोरपाटनमा पर्यटकको आगमन एक वर्षमै उल्लेख्य बढेको हो। आर्थिक वर्ष २०८१/८२ मा २३ हजार ६९२ पर्यटक ढोरपाटन पुगेका थिए। त्यसअघि आव २०८०/८१ मा यस्तो संख्या १५ हजार ५७३ थियो।
यसअनुसार दुई वर्षको अवधिमा ढोरपाटन पुग्ने पर्यटकको संख्या करिब २१ हजार ९४७ ले बढेको छ। आव २०८१/८२ को तुलनामा पछिल्लो आर्थिक वर्षमा मात्रै पर्यटकको संख्या १३ हजार ८२८ अर्थात् करिब ५८ प्रतिशतले बढेको देखिन्छ।
पर्यटक बढेसँगै राजस्वमा पनि वृद्धि
पर्यटकको आगमन बढेसँगै ढोरपाटन सिकार आरक्षको पर्यटक प्रवेश शुल्कबाट हुने आम्दानी पनि बढेको छ। कार्यालयका अनुसार आव २०८२/८३ मा पर्यटक प्रवेश शुल्कबाट ४७ लाख ६८ हजार ४०५ रुपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो राजस्व ३१ लाख २१ हजार ५०० रुपैयाँ थियो।
एक वर्षमा प्रवेश शुल्कबाट हुने राजस्व १६ लाख ४६ हजार ९०५ रुपैयाँ अर्थात् करिब ५३ प्रतिशतले बढेको छ। आरक्ष कार्यालयले नेपाली तथा आन्तरिक पर्यटकका लागि प्रति व्यक्ति १०० रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि १ हजार ५०० रुपैयाँ र अन्य विदेशी पर्यटकका लागि ३ हजार रुपैयाँ प्रवेश शुल्क लिँदै आएको छ।
ढोरपाटनमा पर्यटकको रोजाइ फेरिँदै
ढोरपाटन विगतमा मुख्यतः विदेशी पर्यटकका लागि सिकार गन्तव्यका रूपमा चिनिँदै आएको थियो। पछिल्लो समय भने यसको पहिचान सिकार पर्यटनमा मात्र सीमित हुन छाडेको छ।
ढोरपाटन उपत्यका, निशेलढोर, ढोरबराह मन्दिर, बुकीपाटन, बुकीफूल र जलजलालगायतका क्षेत्रको अवलोकन तथा पदयात्राका लागि आन्तरिक पर्यटक पुग्न थालेका छन्। समुद्री सतहबाट करिब २ हजार ९०० मिटर उचाइमा रहेको ढोरपाटन उपत्यकादेखि ४ हजार मिटरभन्दा बढी उचाइको बुकीपाटनसम्म पर्यटक पुग्न थालेका छन्।
आरक्ष कार्यालयका रेञ्जर सुवेदीका अनुसार ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विस्तार, पदयात्रा मार्गको विकास तथा होटल र घरबासको व्यवस्थापनमा सुधार आएपछि पर्यटकको आगमन बढेको हो।
‘ढोरपाटनको आकर्षण अहिले बाहिर आउन थालेको छ। यहाँ आउने पर्यटकको संख्या वृद्धि हुनुको प्रमुख कारण प्रचारप्रसार हो,’ सुवेदीले भने, ‘पर्यटकीय पूर्वाधार थपिनु, बुकीपाटन, बुकीफूल र जलजलाको चर्चा बढ्नु, पदयात्रीको रोजाइमा पर्नु तथा होटल र घरबासको व्यवस्थापन हुनुका कारण पर्यटक बढेका हुन्।’
ढुंगा, गिट्टी र बालुवाबाट पनि करोडभन्दा बढी राजस्व
ढोरपाटन क्षेत्रबाट पर्यटकीय आम्दानीसँगै प्राकृतिक स्रोतको उपयोगबाट हुने राजस्व पनि उल्लेख्य रहेको छ। रक्ष कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ढुंगा, गिट्टी र बालुवाबाट १ करोड १ लाख २७ हजार ९५३ रुपैयाँ राजस्व संकलन भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४६ लाख ४१ हजार रुपैयाँ बढी हो।
पर्यटन र प्राकृतिक स्रोतबाट हुने आम्दानी बढ्दै जानुले ढोरपाटन क्षेत्रको पर्यटन गतिविधि विस्तारसँगै स्थानीय तथा सरकारी राजस्वमा समेत यसको योगदान बढिरहेको देखाउँछ।
पूर्वाधार र पदमार्गमा जोड
पर्यटकको संख्या बढेपछि आरक्ष कार्यालयले पर्यटक सूचना प्रणाली, पदयात्रा मार्ग तथा आवश्यक पर्यटकीय पूर्वाधार विस्तारमा जोड दिएको जनाएको छ। पर्यटकलाई शुल्क तिरेर पालसहित बस्न सकिने व्यवस्था पनि गरिएको छ। यसले होटल तथा घरबासको पहुँच सीमित भएका क्षेत्रमा समेत पर्यटकलाई रात बिताउन सहज बनाउने अपेक्षा गरिएको छ।
ढोरपाटनमा आन्तरिक पर्यटकको आगमन बढ्दै गएसँगै स्थानीय होटल, घरबास, यातायात, खाद्य तथा अन्य पर्यटनसम्बन्धी व्यवसायमा आर्थिक गतिविधि विस्तार हुने सम्भावना देखिएको छ।
पछिल्लो तथ्यांकले ढोरपाटनको पर्यटन अब विदेशी सिकार पर्यटकमा मात्र निर्भर नरहेको देखाएको छ। प्राकृतिक सौन्दर्य, पदयात्रा, धार्मिक स्थल र उच्च हिमाली भूगोलको अनुभव लिन चाहने नेपाली पर्यटकको बढ्दो आकर्षणले ढोरपाटनलाई आन्तरिक पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्दै लगेको छ।
प्रतिक्रिया दिनुहोस