२०८३, भाद्र ५ गते

images

कृषि विकास बैंकको एपमै करदाता प्रोत्साहन कार्यक्रम, क्यूआर भुक्तानीमा १० लाख पुरस्कार

शुक्रवार , भाद्र ५, २०८३

कृषि विकास बैंकका ग्राहकले अब बैंकको मोबाइल एपमार्फत क्यूआर भुक्तानी गर्दा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन पाउने भएका छन्।

डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर अनुपालन बढाउने उद्देश्यले बैंकले आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रम आफ्नो मोबाइल बैंकिङ एपमा समावेश गरेको हो।

कार्यक्रमअन्तर्गत नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी कृषि विकास बैंकको मोबाइल बैंकिङ एपबाट मर्चेन्ट क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन्। यसका लागि ग्राहकले कारोबारसँग सम्बन्धित प्यान वा भ्याट बिल लिएर सुरक्षित राख्नुपर्नेछ।

दैनिक १ लाख, १५ दिनमा १० लाख

आन्तरिक राजस्व विभागले तोकेको व्यवस्थाअनुसार योग्य डिजिटल कारोबार स्वतः लक्की ड्रमा समावेश हुनेछन्। कार्यक्रममा प्रत्येक दिन एक जना भाग्यशाली ग्राहकले कर कट्टीपछिको १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। त्यस्तै, प्रत्येक १५ दिनमा एक जना ग्राहकले १० लाख रुपैयाँको बम्पर पुरस्कार जित्ने अवसर पाउनेछन्।

यसले डिजिटल माध्यमबाट कारोबार गर्ने ग्राहकलाई कर अनुपालनसँग जोडिन थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

एपमै कारोबार र पुरस्कारको अवस्था हेर्न सकिने

कृषि विकास बैंकले आफ्नो एडीबीएल स्मार्ट प्लस मोबाइल बैंकिङ एपमा ‘आईआरडी इन्सेन्टिभ प्रोग्राम’ नामको छुट्टै मेनु राखेको छ। यसबाट ग्राहकले आफूले गरेका योग्य कारोबारको संख्या, कारोबारको विवरण तथा इतिहास हेर्न सक्नेछन्। त्यस्तै, पुरस्कारको अवस्था र लक्की ड्रको नतिजासमेत एपबाटै हेर्न सकिने बैंकले जनाएको छ।

बैंकले ग्राहकलाई मर्चेन्ट क्यूआरमार्फत डिजिटल भुक्तानी गर्न, कारोबारपछि प्यान वा भ्याट बिल लिन र एपमा आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ।

बैंकका अनुसार यस्तो पहलले डिजिटल भुक्तानीको विस्तारसँगै नगदरहित कारोबार र वित्तीय पारदर्शिता बढाउन सहयोग पुग्नेछ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!