राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ललितपुर–२ बाट निर्वाचित सांसद जगदीश खरेललाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले खरेललाई प्रवक्ता तोकेको हो।
खरेल चुनावको समयमा रास्वपामा प्रवेश गरेका थिए। ललितपुर–२ बाट निर्वाचित भएपछि उनी पार्टीको केन्द्रीय भूमिकामा आएका हुन्।
त्यस्तै, रास्वपाले केन्द्रीय समितिमा ९ जना नयाँ सदस्य मनोनीत गरेको छ। पार्टीको विधानले सभापतिलाई ५१ सदस्यीय केन्द्रीय समितिमा सदस्य मनोनीत गर्ने अधिकार दिएअनुसार शुक्रबारको बैठकले ९ जनालाई केन्द्रीय सदस्य बनाएको हो।
मनोनीत हुनेमा सुनिल लम्साल, भूपदेव शाह, सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव, डा. मनोहर प्रधान, भक्तबहादुर राई, बसुमाया तामाङ र सुरेन्द्र चौधरी रहेका छन्।
तीन मन्त्री पनि केन्द्रीय समितिमा
रास्वपाले सरकारमा रहेका तीन मन्त्रीलाई समेत पार्टीको केन्द्रीय समितिमा ल्याएको छ। बैठकले गृहमन्त्री सुधन गुरुङ, भूमि व्यवस्थामन्त्री प्रतिभा रावल र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साललाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।
पार्टीको सरकारमा सहभागिता र संगठनात्मक संरचनालाई समानान्तर रूपमा अघि बढाउने क्रममा मन्त्रीहरूलाई केन्द्रीय जिम्मेवारीसमेत दिइएको हो।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको बैठकले गरेको मनोनयनसँगै रास्वपाको केन्द्रीय समिति थप विस्तार भएको छ।
प्रतिक्रिया दिनुहोस