२०८३, भाद्र ५ गते

images

स्वास्थ्य बीमाको बजेट घटेको होइन, गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब थपिएको हो : अर्थमन्त्री वाग्ले

बिहिवार , भाद्र ४, २०८३

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको स्पष्ट पारेका छन्। उल्टै गत आर्थिक वर्ष बजेट अपुग भएपछि ११ अर्ब रुपैयाँ थप गरिएको र चालु आर्थिक वर्ष स्वास्थ्य बीमाका लागि ५ अर्ब रुपैयाँ थपेर १५ अर्ब रुपैयाँ विनियोजन गरिएको उनले बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा सहभागी नागरिकको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमाप्रति सरकारको दायित्व घटाउने नीति नभएको बताए। उनका अनुसार गत वर्ष अघिल्लो सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ बजेट छुट्याएको थियो। तर, उक्त रकम अपुग भएपछि आफू अर्थमन्त्री बनेपछि थप ११ अर्ब रुपैयाँ व्यवस्था गरिएको उनले बताए।

'गत वर्ष स्वास्थ्य बीमामा अघिल्लो सरकारले १० अर्ब बजेट छुट्याएको थियो। तर त्यसले नपुगेर म मन्त्री भएर आएपछि ११ अर्ब थप गरेको हुँ,' उनले भने, 'यस वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि ५ अर्ब थपेर १५ अर्ब छुट्याएको छु।'

बजेट बढ्यो, तर सेवाको प्रभावकारितामाथि प्रश्न

अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमप्रति सरकारको वित्तीय दायित्व निरन्तर बढ्दै गएको भए पनि त्यसअनुसार नागरिकले प्रभावकारी सेवा पाए/नपाएको विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताए। 'सरकारको दायित्व बढिरहेको छ, तर लगानीअनुसार नागरिकले सेवा पाएका छन् कि छैनन् भन्ने प्रश्न छ,' उनको भनाइ थियो।

स्वास्थ्य बीमा कार्यक्रम सरकारी अस्पतालहरूमा निरन्तर सञ्चालनमा रहेको उल्लेख गर्दै उनले कार्यक्रमलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन आवश्यक अध्ययन भइरहेको जानकारी दिए।

स्वास्थ्य बीमाको बजेट बढाउँदै लैजानुका साथै सेवा प्रवाह, अस्पतालको सहभागिता र नागरिकले पाउने उपचार सुविधालाई समेत प्रभावकारी बनाउनुपर्ने चुनौती सरकारसामु रहेको उनले संकेत गरे।
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!