नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन बढेको छ। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेर ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको छ।
बिहीबार मात्रै सुनको मूल्य प्रतितोला ९ हजार ३०० रुपैयाँले बढेर ३ लाख १३ हजार ४०० रुपैयाँ पुगेको थियो। यससँगै दुई दिनमा सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्यमा पछिल्ला दिनमा तीव्र उतारचढाव देखिएको छ। बुधबार प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेर ३ लाख ४ हजार १०० रुपैयाँमा झरेको सुन बिहीबार र शुक्रबार लगातार बढेको हो।
शुक्रबारको वृद्धिसँगै नेपाली बजारमा एक तोला सुन खरिद गर्न ३ लाख १६ हजार ७०० रुपैयाँ खर्च गर्नुपर्ने भएको छ। विश्व बजारमा सुनको मूल्यमा देखिएको वृद्धि र त्यसको प्रभाव नेपाली बजारमा समेत परेको अवस्थामा स्थानीय मूल्यमा पनि निरन्तर उतारचढाव देखिएको छ।
प्रतिक्रिया दिनुहोस