नेपालमा एलपी ग्यासको खपत पछिल्लो समय अस्वाभाविक रूपमा बढेको देखिएको छ। नेपाल आयल निगमका अनुसार साउनमा मात्रै अघिल्लो महिनाको तुलनामा करिब ९ लाख सिलिन्डर बढी ग्यास आयात तथा बिक्री भएको छ।
निगमले बजारमा ग्यासको आपूर्ति नियमित रहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद गरेर अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ। निगमको तथ्याङ्कअनुसार २०८३ साउनमा ५७ हजार ३१६ दशमलव ३८ मेट्रिक टन एलपी ग्यास आयात तथा बिक्री भएको छ। यो करिब ४० लाख ३६ हजार ३६४ सिलिन्डर बराबर हो।
जबकि असारमा ४४ हजार ५४४ दशमलव ५० मेट्रिक टन, अर्थात् करिब ३१ लाख ३६ हजार ९३७ सिलिन्डर ग्यास आयात तथा बिक्री भएको थियो। यसरी असारको तुलनामा साउनमा करिब १२ हजार ७७२ मेट्रिक टन ग्यास बढी आयात तथा बिक्री भएको देखिन्छ।
पाँच महिनामा ग्यास खपतको यस्तो चित्र
निगमका अनुसार चैतमा ३८ हजार ७९९ दशमलव ४५ मेट्रिक टन अर्थात् करिब २७ लाख ३२ हजार ३५५ सिलिन्डर ग्यास बिक्री भएको थियो। त्यस्तै वैशाखमा ३२ हजार ५६ दशमलव ४४ मेट्रिक टन अर्थात् २२ लाख ५७ हजार ४९६ सिलिन्डर र जेठमा ३२ हजार ८४२ दशमलव २९ मेट्रिक टन अर्थात् २३ लाख १२ हजार ८३७ सिलिन्डर ग्यास बिक्री भएको थियो।
असारमा भने बिक्री बढेर ४४ हजार ५४४ दशमलव ५० मेट्रिक टन पुगेको थियो। साउनमा आइपुग्दा यो अझ बढेर ५७ हजार ३१६ दशमलव ३८ मेट्रिक टन पुगेको छ। यसले पछिल्लो समय एलपी ग्यासको मासिक माग र खपतमा ठूलो उतारचढाव देखिएको संकेत गर्छ।
खपत बढ्नुको कारण के?
असारदेखि साउनसम्म ग्यासको बिक्रीमा एकैपटक ठूलो वृद्धि हुनुको कारणबारे भने निगमले स्पष्ट कारण सार्वजनिक गरेको छैन। तर यति ठूलो परिमाणमा बिक्री बढेपछि बजारमा वास्तविक खपत बढेको हो वा उपभोक्ता तथा व्यवसायीले भविष्यको अभावको आशंकामा अतिरिक्त ग्यास राख्न थालेका हुन् भन्ने प्रश्न उठेको छ।
यही कारण निगमले आपूर्ति नियमित रहेको भन्दै अनावश्यक भण्डारण नगर्न आग्रह गरेको हो। यदि वास्तविक घरायसी तथा व्यावसायिक खपत नै बढेको हो भने यसको कारण पहिचान गर्नुपर्ने देखिन्छ। तर मागभन्दा बढी ग्यास सुरक्षित राख्ने प्रवृत्ति बढेको हो भने त्यसले बजारमा कृत्रिम अभावको मनोविज्ञान सिर्जना गर्न सक्छ।
अभावको हल्लाले बजारमा दबाब नपरोस्
निगमले भदौमा पनि एलपी ग्यासको आयात तथा वितरण नियमित भइरहेको जनाएको छ। आगामी दिनमा समेत आपूर्ति निरन्तर रहने उसको दाबी छ। त्यसैले उपभोक्ताले आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ। तर, तथ्याङ्कले भने एउटा गम्भीर प्रश्न उठाएको छ- साउनमा मात्रै थप करिब ९ लाख सिलिन्डर ग्यास कहाँ गयो? वास्तविक उपभोग बढेको हो भने त्यसको कारण के हो? र यदि उपभोक्ताले भविष्यको अभावको डरले ग्यास थुपार्न थालेका हुन् भने त्यसको कारण के हो?
ग्यासको आपूर्ति नियमित रहेको अवस्थामा खपतमा आएको यस्तो अस्वाभाविक वृद्धिको कारण पहिचान गर्नु अब निगमका लागि पनि उत्तिकै महत्वपूर्ण देखिन्छ।
प्रतिक्रिया दिनुहोस