अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले तत्काल नोटबन्दी गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। उनले नोटबन्दी अहिले सरकारको आवश्यकता र प्राथमिकतामा नरहेको बताएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा सहभागीले मुलुकको वर्तमान आर्थिक अवस्थालाई हेर्दा नोटबन्दी किन नगर्ने भन्दै प्रश्न गरेका थिए। जवाफमा अर्थमन्त्री वाग्लेले सरकारले नोटबन्दीबारे अहिलेसम्म कुनै निर्णय वा तयारी नगरेको बताए।
'नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ। तर, अहिलेको अवस्थामा हामीलाई यो कदम उपयुक्त हुन्छ जस्तो लाग्दैन। सरकारले नोटबन्दीबारे अहिलेसम्म केही सोचेको छैन,' उनले भने।
‘नोटबन्दी गरेका देशमा सफलता खासै राम्रो देखिएन’ अर्थमन्त्री वाग्लेले नोटबन्दीको अन्तर्राष्ट्रिय अभ्यास र त्यसबाट देखिएका परिणामलाई समेत ध्यान दिनुपर्ने बताए।
उनका अनुसार विभिन्न मुलुकले नोटबन्दीको अभ्यास गरे पनि त्यसको सफलता उत्साहजनक देखिएको छैन। त्यसैले तत्काल निर्णय लिनुभन्दा यसको आवश्यकता, प्रभाव र सम्भावित परिणामबारे गम्भीर अध्ययन आवश्यक हुने उनको भनाइ छ।
'यो अभ्यास गरेका विश्वका अन्य मुलुकहरूमा पनि नोटबन्दीको सफलता खासै राम्रो देखिएको छैन। त्यसैले हतारमा यस्तो निर्णय गर्नु बुद्धिमानी हुँदैन,” उनले भने।
मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधानका लागि सरकारले तत्काल नोटबन्दीलाई उपायका रूपमा अघि नबढाएको उनको भनाइ छ। कार्यक्रममा अर्थमन्त्री वाग्लेले सहभागी नागरिकका विभिन्न जिज्ञासाको जवाफ दिँदै सरकार आगामी आर्थिक नीति र नेतृत्वका विषयमा गम्भीरतापूर्वक अघि बढिरहेको बताए।
प्रतिक्रिया दिनुहोस