लगातार चार कारोबार दिनदेखि ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार भने ७.१७ अंकले बढेर २६२९.४० बिन्दुमा पुगेको छ।
बजारको अन्तिम समयमा सुधार आएपछि नेप्से सकारात्मक भएर बन्द भएको हो। यस दिन सेन्सेटिभ इन्डेक्स १.८८ अंक, फ्लोट इन्डेक्स ०.४२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५५ अंकले बढेको छ।
नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। बुधबार ३ अर्ब २९ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३४५ स्टकको ४७ हजार ९१९ पटकको कारोबारबाट ४ अर्ब ४० करोड १४ लाख रुपैयाँबराबरको ९५ लाख ७६६ कित्ता सेयर किनबेच भएको छ।
१३२ कम्पनीको मूल्य बढ्यो
यस दिन कारोबारमा आएका कम्पनीमध्ये १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीकै मूल्य घटेको छ। १३ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूह घटेका छन्। जलविद्युत् उपसमूह सबैभन्दा धेरै ०.९९ प्रतिशतले बढेको छ। बैंकिङ, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूह पनि सामान्य बढेका छन्।
माउन्ट एभरेस्ट पावरको लगातार सातौँ दिन सकारात्मक सर्किट
यस दिन माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको सेयर मूल्य लगातार सातौँ कारोबार दिन सकारात्मक सर्किट तहमा कारोबार भएको छ। सर्वोत्तम पेन्ट्सको सेयर पनि लगातार छैटौँ कारोबार दिन सकारात्मक सर्किट तहमा पुगेको छ।
त्यस्तै, एनआईसी एसिया सेलेक्ट फन्ड–३० को इकाइ मूल्य ६.५ प्रतिशतभन्दा बढी बढेको छ। यसको विपरीत कुमारी धनवृद्धि योजनाको इकाइ मूल्य ९.७७ प्रतिशतले घट्दै यस दिन सबैभन्दा धेरै गिरावट आएको छ।
एग्रिकल्चरल बन्डको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा नौ वर्षे एग्रिकल्चरल बन्ड शीर्ष स्थानमा रहेको छ। उक्त बन्डको ५० करोड ६५ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ३० करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको करिब २३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
चार दिनको निरन्तर गिरावटपछि बजारमा सामान्य सुधार आए पनि कारोबार रकम ४ अर्ब रुपैयाँ नाघ्नु र बजारमा बढ्ने तथा घट्ने कम्पनीको संख्या बराबरजस्तै रहनुले लगानीकर्ताको सक्रियता भने उच्च रहेको देखाएको छ।
प्रतिक्रिया दिनुहोस