केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालसहित उनका परिवारका सदस्य तथा कारोबारमा संलग्न केही साझेदारको बैंक खाता रोक्का गरेको छ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ परेका अग्रवालमाथि शेयरको मूल्य कृत्रिम रूपमा बढाएर गैरकानुनी रूपमा नाफा आर्जन गरेको आरोप छ। सोही अनुसन्धानका क्रममा सीआईबीले उनी र कारोबारमा संलग्न व्यक्तिहरूको बैंक खाता रोक्का गरेको हो।
सीआईबीका अनुसार अग्रवालले ४९ लाख १९ हजार रुपैयाँ गैरकानुनी रूपमा नाफा आर्जन गरेको देखिएको छ। उनले अरू व्यक्तिको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रयोगकर्ता विवरणमार्फत आपसी खरिद-बिक्री गरेको अनुसन्धानबाट खुलेको सीआईबीको दाबी छ।
त्यसैगरी, शेयर स्वामित्वमा उल्लेख्य वृद्धि नदेखिने गरी कारोबार गर्दै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएको सीआईबीले जनाएको छ।
अग्रवाल यसअघि ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा समेत पक्राउ परेका थिए। अहिले भने धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस