नेपाल प्रहरीले अनलाइन सट्टेबाजी (बेटिङ) तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्नमाथिको कारबाहीलाई तीव्र बनाएको छ। पछिल्ला तीन आर्थिक वर्षमा मात्रै अनलाइन बेटिङमा संलग्न २५८ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा अनलाइन बेटिङमा संलग्न ४८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २६ जना विदेशी र २२ जना नेपाली नागरिक छन्। यसअघि आर्थिक वर्ष २०८१/८२ मा अनलाइन बेटिङमा संलग्न १४८ जना पक्राउ परेका थिए। त्यसमध्ये ९३ जना विदेशी नागरिक थिए। आर्थिक वर्ष २०८०/८१ मा भने १३ जना विदेशी नागरिकसहित ६२ जना पक्राउ परेका थिए।
यसरी पछिल्ला तीन आर्थिक वर्षमा अनलाइन बेटिङमा संलग्न पक्राउ पर्नेहरूको संख्या वर्षअनुसार फरक देखिए पनि प्रहरीले पछिल्लो समय यसविरुद्धको निगरानी र कारबाहीलाई थप तीव्र बनाएको जनाएको छ।
खेलकुद प्रतियोगिताका बेला बेटिङ नेटवर्क सक्रिय
प्रहरीको अनुसन्धानका क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेका बेला विभिन्न अनलाइन बेटिङ प्लेटफर्म बढी सक्रिय हुने गरेको पाइएको छ। पछिल्लो समय अनलाइन बेटिङसँगै क्रिप्टोकरेन्सी कारोबारसमेत बढिरहेको भन्दै प्रहरीले यस्ता गतिविधि नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार अनलाइन बेटिङ नेटवर्क र क्रिप्टोकरेन्सी कारोबार नियन्त्रणका लागि सूचना सङ्कलन तथा निगरानीलाई प्रहरीले प्राथमिकतामा राखेको छ।
‘सट्टेबाजी हुने सम्भावित स्थान, गिरोह र व्यक्तिको बारेमा गोप्य सूचना सङ्कलन, अनलाइन सट्टेबाजी, विशेषगरी खेलकुद बेटिङमा संलग्न नेटवर्कको डिजिटल निगरानी एवं बैंकिङ तथा डिजिटल वालेटमार्फत हुने कारोबारको निगरानीमा समेत प्रहरीले थप संवेदनशील भई काम गर्दै आएको छ,’ उनले भने।
प्रहरीले अनलाइन गतिविधिसँगै बेटिङबाट हुने रकमको प्रवाह पहिचान गर्न बैंकिङ प्रणाली तथा डिजिटल वालेटबाट हुने कारोबारमाथि समेत निगरानी बढाएको छ।
बेटिङमा एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना
नेपालमा सट्टेबाजीसम्बन्धी गतिविधिलाई कानुनले कसुर मानेको छ। मुलुकी अपराध संहिता, २०७४ अनुसार सट्टेबाजीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएमा प्रयोग भएको बिगो जफत गरी कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
त्यस्तै, क्रिप्टोकरेन्सी कारोबारमा समेत कानुनी प्रतिबन्ध रहेको छ। मुलुकी अपराध संहिता, २०७४ मा अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा बिगो तथा त्यसबाट बढाइएको सम्पत्तिसमेत जफत गरी पाँच वर्षसम्म कैद र बिगोबमोजिम जरिवाना हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ।
प्रहरीले अनलाइन बेटिङ र क्रिप्टोकरेन्सी कारोबारको बढ्दो डिजिटल सञ्जाललाई ध्यानमा राख्दै प्रविधिमा आधारित निगरानी, वित्तीय कारोबारको विश्लेषण र सूचना संकलनलाई थप प्रभावकारी बनाउने जनाएको छ।
प्रतिक्रिया दिनुहोस