राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण फेरि स्थगित भएको छ। अगस्ट दोस्रो साताका लागि तय भएको भ्रमण आन्तरिक तयारीलगायतका कारण सेप्टेम्बर दोस्रो सातासम्म सारिए पनि अब उक्त समयमा समेत लामिछाने चीन नजाने भएका छन्।
उच्च स्रोतका अनुसार अब रास्वपाका सांसदहरूको टोली मात्रै चीन जाने तयारी छ। लामिछानेको चीन भ्रमण भने तत्कालका लागि स्थगित गरिएको हो। उनको नयाँ भ्रमण मिति अहिलेसम्म तय भएको छैन। भारत भ्रमणपछि चीन जाने गरी लामिछानेको भ्रमण कार्यक्रम बनाइएको थियो। उनले यसअघि भारत भ्रमणका क्रममा उच्च तहका राजनीतिक भेटवार्ता गरेका थिए।
लामिछानेको चीन भ्रमण सुरुमा अगस्ट दोस्रो साताका लागि तय गरिएको थियो। पछि आन्तरिक तयारीलगायतका कारण एक महिना पछि सारेर सेप्टेम्बर दोस्रो साताका लागि प्रस्ताव गरिएको थियो। तर दोस्रो पटक पनि भ्रमण स्थगित भएपछि लामिछानेको चीन भ्रमण किन रोकियो भन्ने प्रश्न उठेको छ।
यसअघि चीन भ्रमणको तयारी हुँदा लामिछानेको चिनियाँ उच्च नेतृत्वसँग भेटवार्ता गराउने विषयमा समेत तयारी भइरहेको सार्वजनिक भएको थियो। जुलाईमा प्रकाशित विवरणअनुसार रास्वपाले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गराउने पहलसमेत गरेको थियो भने चिनियाँ उपराष्ट्रपति हान झेङ, विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीसँग भेटवार्ताको तयारी रहेको बताइएको थियो।
तर अहिले भ्रमण स्थगित हुनुको ठोस कारण भने रास्वपा वा सरकारी पक्षबाट सार्वजनिक गरिएको छैन। सरकारी स्रोतले लामिछानेले आगामी दिनमा उपयुक्त समयमा चीन भ्रमण गर्ने जनाएको छ।
यसैबीच रास्वपा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले भने छिट्टै भारत भ्रमणमा जाने तयारीमा छन्। उनको भारत भ्रमणका क्रममा उच्च तहमा भेटवार्ता हुने बताइएको छ।
यसरी एकातिर रास्वपाका सांसदहरूको चीन भ्रमणको तयारी भइरहँदा पार्टी सभापति लामिछानेको भ्रमण भने अनिश्चित बनेको छ। भारतपछि चीन जाने तय भएको उनको कूटनीतिक दौड अचानक रोकिएपछि यसको कारण र नयाँ भ्रमण तालिकालाई चासोका साथ हेरिएको छ।
प्रतिक्रिया दिनुहोस