जय नेपाल पार्टीका अध्यक्ष धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।
राणाले आइतबार सामाजिक सञ्जालमार्फत पूर्वराजा शाहसँग भेट भएको जानकारी दिँदै तस्बिरसमेत सार्वजनिक गरेका हुन्। ‘हिमानी ट्रस्ट’को कार्यक्रममा सहभागी भएपछि शाहसँग भेट भएको उनले बताएका छन्।
भेटमा के–कस्ता विषयमा छलफल भयो भन्नेबारे भने राणाले कुनै विवरण सार्वजनिक गरेका छैनन्। राणाले करिब दुई साताअघि मात्रै जय नेपाल पार्टी दर्ता गरेका थिए। त्यसअघि उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री थिए।
नयाँ पार्टी गठनसँगै राणाले हिन्दु अधिराज्य, संवैधानिक राजसंस्थाको पुनःस्थापना र लोकतान्त्रिक प्रणालीलाई पार्टीका प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि सारेका छन्। उनले जय नेपाल पार्टीको मुख्य राजनीतिक एजेन्डा नै राजसंस्था पुनःस्थापना रहेको बताउँदै आएका छन्।
पूर्वराजा शाहसँगको पछिल्लो भेटलाई भने राणाको नयाँ राजनीतिक यात्राको सुरुवातसँगै राजसंस्थासम्बन्धी उनको राजनीतिक अभियानका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, भेट राजनीतिक प्रकृतिको थियो वा व्यक्तिगत शिष्टाचार भेट मात्र, त्यसबारे राणाले स्पष्ट पारेका छैनन्।
प्रतिक्रिया दिनुहोस